प्रदेश नं ३ मा एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै


मकवानपुर, १३ भदौ । प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ ।

प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ । प्रत्येक स्थानीय तहमा एक/एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन आह्वान गरेको हो ।

यसअघि १८ जना नियुक्त भइसकेको अवस्थामा थप १०१ स्वास्थ्य परिचारिका नर्सका लागि मन्त्रालयले विज्ञापन अह्वान गरेको बताइएको छ । एक स्थानीय तह एक मात्र नभएर आगामी दिनमा मन्त्रालयले प्रत्येक सामुदायिक विद्यालयमा एक नर्स नियुक्त गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । साथै विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका गोपाल बजगार्इँले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *