गाँउपालिकाको पोषण नीति : भाले बोकेर सुत्केरी भेट्न पुगे वडाध्यक्ष

बलेफी वडा नं ७ का वडाध्यक्ष कार्केल लामाले सुत्केरीको घरमै पुगेर भाले प्रदान गर्दै

सिन्धुपाल्चोक ११ भदौ । बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।

सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ ।

वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका हुन् । उनीहरुका लागि एक-एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो ।

स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए ।

गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो । वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *