नयाँ स्वास्थ्य सचिव बरालद्वारा पदभार ग्रहण
काठमाडौँ,१० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भई आएका सचिव खगराज बरालले जिम्मेवारी सम्हालेका छन् । सोमबार विहान स्वास्थ्य मन्त्रालयमा पुगी जिम्मेवारी सम्हालेका हुन् । उनी यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा थिए । उनले लामो समय शिक्षा सेवामा बिताएका हुन् ।
यसअघिका स्वास्थ्य सचिव रामप्रसाद थपलिया युवा तथा खेलकूद मन्त्रालयमा सरुवा भएका छन् । करीब ११ महीनाको अन्तरालमा सचिव बरालले चौथो स्वास्थ्य सचिवका रुपमा जिम्मेवारी सम्हाल्न आईपुगेका हुन् ।
पदभारग्रहण कार्यक्रममा बोल्दै बरालले सचिव पद भीडभाडमा हिँडेजस्तो भएको चर्चा गर्दै आफूले सबै पक्षको ख्याल गरेर अगामी दिनमा काम गर्ने जानकारी दिए ।
उनले भने, “भीडमा हिँड्दा स्वतन्त्र र आफूखुशी तरिकाले हिँड्न पाइँदैन । सचिव पद पनि त्यस्तै हो, सबै पक्षलाई ख्याल गरेर हिँड्नुपर्छ, म हिँड्छु ।”
सम्पर्क इमेल : nepalihealthnews@gmail.com