सेवा विस्तार गर्दै राप्ती प्रादेशिक अस्पताल

 दीपक बोहरा


तुलसीपुर, ३१ साउन । दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै गएको छ । कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिश गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको छ ।

मृगौला प्रत्यारोपण अगाडि गर्नुपर्ने हेमो डायलासिस सेवाका लागि पाँच मेसिन थप गरिएको छ । त्यसले मिर्गौलाका बिरामीलाई थप सहज बनाएको छ ।

त्यस्तै गएको आर्थिक वर्षदेखि तुलसीपुरमा सिकलसेल ऐनिमियासमेत परीक्षण हुन थालेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा सर्वेश शर्माले बताए । यसअघि सिकलसेल एनिमिया परीक्षणका लागि नेपालगञ्ज वा काठमाडौँ नै जानुपर्ने अवस्था थियो । चालू आार्थिक वर्षदेखि अस्पतालमा इण्डोसकोपी सेवासमेत शुरु भएको छ । बिरामीको मागका आधारमा १०० एमएलको एक्सरे डिआर मेसिन ल्याइएको उनको भनाइ छ । पछिल्लो समय अस्पतालले यस्तै नयाँ सेवा पनि थप गर्दै आएको छ ।

तर जनशक्ति भने अभाव छ । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको डा शर्माको भनाइ छ । “हामीकहाँ बिरामीको पनि घुइँचो हुन्छ, सेवा पनि प्रभावकारी बनाउँदै आएका छौँ”, उनले भने, “तर दरबन्दीअनुसार चिकित्सक नहुँदा सोचेअनुसार अझै पनि काम हुनसकेको छैन ।” अहिले उपलब्ध चिकित्सकले नै सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।

अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक विशेषज्ञ चिकित्सकले दैनिक १४८ बिरामी हेर्नुपर्ने अवस्था रहेको उनले बताए । एक विशेषज्ञ चिकित्सकले दैनिक २५ मात्रै बिरामी हेर्नुपर्ने प्रावधान रहेपनि जनशक्ति अभाव हुँदा एउटै चिकित्सकले १४८ सम्म बिरामी हेर्नुपरेको उनको भनाइ छ ।

अस्पतालमा १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भए पनि अहिले छ मात्रै विशेषज्ञ चिकित्सक रहेको डा शर्माले बताए। अस्पताल ५० श्ययाको अस्पताल भए पनि बिरामीको चापले गर्दा ९५ श्यया सञ्चालन गरिरहेको समेत उनको भनाइ छ । “अस्पताल ५० श्ययाको हो”, उनले भने, “तर बिरामीको सङ्ख्या धेरै भएपछि ९५ श्ययाको रुपमा चलाउँदै आएका छाौँ ।”

अहिले अस्पतालबाट ल्याव, एक्सरे, भिडियो एक्सरे, शल्यक्रिया, ओपिडी सेवा, आपतकालीनलगायतका सेवा प्रदान गर्ने गरिएको डा शर्माले बताए । उनका अनुसार गएको आर्थिक वर्षमा ६१ हजार ९४८ बिरामीले सेवा लिएका छन् । जसमा चार हजार ७६ बिरामी भर्ना भएका थिए भने दुई हजार ९८४ महिलाले सुत्केरी सेवा लिएका थिए । जसमध्ये एक हजार ४३ बिरामीलाई सिफारिश गरिएको डा शर्माको भनाइ छ ।

अस्पतालमा उपचारको क्रममा गएको वर्ष तीन बच्चासहित ४५ को मृत्यु भएको थियो । अहिले अस्पतलबाट ८० एचआइभी संक्रमित भएका बिरामीले औषधि सेवन गर्दै आएका छन् । त्यसैगरी ४४ महिलाको पाठेघरको शल्यक्रिया भएको छ । अस्पतालबाट २० वर्षमुनिका ५६८ बालिकाले सुत्केरी सेवा लिएका छन् भने २५८ महिलाले शल्यक्रिया गराएका थिए ।

गत आर्थिक वर्षमा अस्पतालले रु चार करोड ४८ लाख ४९ हजार ६९९ आम्दानी गर्ने सफल भएको छ । जसमा रु तीन करोड ७५ लाख ८७ हजार ८७३ खर्च भएको डा शर्माले बताउनुभयो । हाल अस्पतालको खातामा रु ७२ लाख ६१ हजार ८४३ मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा रु १३ लाख मौज्दात थियो ।

यस्तै अस्पतालले अन्य कलेजका विद्यार्थीलाई ओजेटी सेवा दिएवापत वार्षिक रु १२ लाख ६० हजार दिने सहमति भएको समेत बताए । यसले अस्पतालको आर्थिक वृद्धि भएको डा शर्माको भनाइ छ । गएको वर्ष विनियोजन गरेको बजेटमध्ये आर्थिकतर्फ ७५ प्रतिशत र भौतिक पूर्वाधारतर्फको शतप्रतिशत रकम खर्च भएको उनले बताए । साथै विभिन्न निकायबाट प्राप्त बजेटबाट ८० प्रतिशत सामान खरीद गर्न सफल भएको छ ।

अहिले अस्पताल एम्बुलेन्सविहीन जस्तै भएको भन्दै त्यसका लागि गत आर्थिक वर्षको जेठमा बजेट निकासा भएको समेत उनले बताए । उक्त बजेटबाट एम्बुलेन्स खरीदकार्यसमेत भइरहेको शर्माको भनाइ छ । शर्माका अनुसार गएको वर्ष प्रदेश नं ५ सरकारले रु २२ करोड बजेट निकासा गरेको थियो । उक्त बेजेटलाई केही समयमै बोलपत्रमार्फत लिफ्टसहितको भवन निर्माण गर्ने गरी काम अघि बढाएको उनको भनाइ छ । साथै प्रदेश सरकारले चालू आर्थिक वर्षमा अस्पतालको स्तरोन्नतिका लागि डेढ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

गएको आर्थिक वर्षमा अस्पतालको शवगृहमा प्रतिक्षालय स्थापना गर्नुका साथै फ्रिज पनि राखिएको छ । यसअघि प्रतिक्षालय र फ्रिज नहुँदा अस्पतालले समस्या भोग्नुपरेको थियो । चालू आर्थिक वर्षमा ‘अस्पतालको विकासका लागि दक्ष जनशक्ति, यो वर्षको आवश्यकता’ भन्ने नाराका साथ अगाडि बढ्ने डा शर्माको भनाइ छ । अस्पतालमा पहिले व्यवस्थापन समिति रहे पनि हाल अस्पतालका कर्मचारीको पाँच सदस्यीय तदर्थ समिति रहेको छ । यस वर्ष अस्पतालमा दरबन्दीअनुसार चिकित्सक ल्याउनका लागि पहल थाल्नेसमेत उनको भनाइ छ । “दरबन्दीअनुसार चिकित्सक नहुँदा हामी उपलब्ध चिकित्सकले मात्रै अत्यधिक समय दिनुपरेको छ”, उनले भने, “अब दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक ल्याउने गरी पहल थालिरहेका छौँ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *