स्वास्थ्य मन्त्रालयद्धारा तीन सरकारी अस्पतालमा छड्के, ७३ जना ढिलो ५२१ अनुपस्थिति

काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा रहेका तीन सरकारी अस्पतालको छड्के गरेको छ । छड्केमा धेरै कर्मचारी विना जानकारी अनुपस्थित र समय भन्दा ढिलो आउने गरेको पाइएको छ ।

मन्त्रालयका शाखा अधिकृत रामहरि लामिछानेको नेतृत्वमा आइतबार विहान साढे १० बजे कान्ति अस्पतालको आकस्मिक अनुगमन गर्दा १२ जना समय भन्दा ढिला आएर हाजिर गरेको पाइएको थियो । सो अस्पतालमा ५१५ जना भने अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै टेकुस्थित शहीद शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा ५४ जना कर्मचारी समय भन्दा ढिलो आएको पाइएको थियो । मन्त्रालयका शाखा अधिकृत प्रेमलाल दुवाको टोलीले विहान साढे १० बजे टेकुमा पुगेर कर्मचारीको हाजिरी हेरेको थियो ।

यस्तै अर्का शाखा अधिकृत घनश्याम पोखरेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरेको थियो । सो क्रममा ६ जना गयल र ७ जना ढिलो हाजिर गर्न आएको भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियालले हेल्लो सरकारबाट आएको गुनासा, सञ्चारमाध्यममा आएका समाचारआदिलाई आधार मानि आकस्मिक छड्के गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको र समय भन्दा ढिला हाजिर भएको पाइएको बताए ।

‘तीन वटा अस्पतालमा ५२१ जना कर्मचारी विना जानकारी अनुपस्थित देखियो, ७३ जना ढिला आए । यो डरलाग्दो तथ्यांक हो । यसबारेमा हामीले थप अनुसन्धान गर्दैछौँ ।,’ उनले कतिपय अस्पतालमा सिफ्ट चेन्ज भएका कारण पनि यस्तो हुनसक्ने जानकारी आएकोले त्यो हो कि होइन भन्नेबारेमा थप अनुसन्धान गर्न लागेको उनले बताए ।

‘यदि सिफ्ट चेन्ज हुँदा यस्तो भएको हो भने त्यो बेग्लै कुरा त्यसका लागि हामीले अस्पताल व्यवस्थापनसंग पनि कुरा गर्दैछौँ,’ उनले भने ।

सचिव थपलियाले ढिला आउनेलाई सचेत गराउने र विना जानकारी अनुपस्थित भएका भए कारवाही को प्रक्रिया अघि बढाउने योजना मन्त्रालयको रहेको बताए ।

‘अहिले रोग फैलने बेला सबै चुस्त रहनुपर्छ । यसका लागि हामीले स्वास्थ्य संस्थाको अवस्था कस्तो छ भनेर हेरेका हौँ । अब यो छड्के अरु अस्पतालमा पनि गर्छौै ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *