सामान्य बन्दै डडेल्धुरा अस्पताल, आजबाट ओपिडी सेवा सञ्चालन हुँदै

डडेल्धुरा, २ असार । बिरामीको मृत्युपछि तीन दिन देखि तनाबग्रस्त बनेको डडेल्धुरा अस्पताल सामान्यउन्मुख बन्दै गएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्केका छन् । आजैबाट ओपिडी सेवा सञ्चालन गर्न लागेको मेडिकल सुपरीटेन्डेन्ट डा.  जितेन्द्र कंडेलले बताए ।

यसअघि हिजो मात्रै ११ जना चिकित्सक र ३४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले मेसु डा कंडेललाई पत्र लेखि सामुहिक रुपमा विदामा बस्ने जनाएका थिए । तर बेलुका पाँच बजेपछि प्रमुख जिल्ला अधिकारी, अमरगडी नगरपालिकाका मेयर, स्थानीय दलका प्रतिनिधि तथा अगुवाहरु अस्पतालमा पुगेर चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसंग मिटिङ राखेका थिए । उनीहरुले सुरक्षाको प्रत्याभुत गराउने र स्थितिलाई सामान्य उन्मुख बनाउन पहल गर्ने बताएपछि चिकित्सकहरु नियमित डिउटीमा फर्कन राजी भएका हुन् ।

‘हिजो दिउसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र सहित गएका चिकित्सक साथीहरुको गुनासो सुन्नुको सट्टा प्रमुख जिल्ला अधिकारीले उल्टै थर्काएर पठाउनु भएछ । त्यसपछि साथीहरुले सामुहिक विदामा बस्ने घोषणा गर्नुभएको थियो । त्यसपछि अरु कर्मचारी तथा स्वास्थ्यकर्मीले पनि विदामा बस्ने निवेदन दिनुभयो । तर बेलुका प्रमुख जिल्ला अधिकारी राजु पौडेल, सहित आएको टोलीसंगको छलफलमा समस्या समाधान गर्न सबैपक्ष मिलेर जाने सहमति भयो । अनि काममा फर्कने निर्णय भयो,’ डा कंडेलले भने ।

यता केन्द्रबाट गएको छानवीन टोलीले पनि आजैबाट काम शुरु गरेको बताएको छ । टोली संयोजक भानुभक्त न्यौपानेले अहिले विहान जिल्ला सुरक्षा समितिसंग बैठक बसेको र लगत्तै अस्पतालमा पुगेर चिकित्सक तथा स्वास्थ्यकर्मीसंग छलफल गर्न लागेको बताए । उनले अस्पतालको नियमित सेवा आजैबाट सुचारु हुने जानकारी दिए ।

‘हामीले पनि काम शुरु गरिसकेका छौँ, चिकित्सक ज्यूहरुले सेवा सुचारु गर्ने बताइसक्नु भएको छ । त्यसअघि एक पटक मिटिङ गर्ने कुरा छ,’ उनले भने ।

गत ३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा निधन भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । विरामीका आफन्तले प्रदर्शन र सामान्य तोडफोड समेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *