धौलागिरि अञ्चल अस्पतालमा निःशुल्क हाइड्रोसिलको उपचार शुरु

बागलुङ, १ असार । धौलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलको निदान आवश्यक रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा सागरकुमार राजभण्डारीले बताए ।
“हाइड्रोसिलको शल्यक्रियाका लागि सर्जन तथा एनेस्थेसिया चिकित्सकको अभावका कारण जनताले पैसा तिर्दासमेत सेवा लिन पाएका थिएनन्”, राजभण्डारीले भने, “अहिले सर्जन तथा एनेस्थेसियाका चिकित्सकको आगमनसँगै हाइड्रोसिलको शल्यक्रिया शुरु भएको हो ।” रोग लुकाउने तथा सरकारी अस्पतालमा उपचारका लागि नआउने हाइड्रोसिलका रोगीलाई आकर्षण गर्नका लागि सचेतना अभियान आवश्यक रहेको डा राजभण्डारीले बताए । राजभण्डारीका अनुसार निजी अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया गर्दा रु सातदेखि १० हजार खर्च लाग्छ ।
“हाइड्रोसिल सामान्य प्रकारको रोग हो, तर हेलचेक्र्याइँ गर्दा ठूलो रुप लिन सक्छ”, सर्जन डा आकाश चित्रकारले भने, “निःशुल्क शल्यक्रिया, औषधि तथा परामर्शका लागि रोग पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” पछिल्लो समय अञ्चल अस्पतालले प्रदान गरेको सेवासुविधाले बिरामीको मन जित्दै गएको छ ।
चिकित्सक अभाव खड्किरहने अस्पतालमा अहिले नौ विशेषज्ञसहित २३ चिकित्सकले सेवा प्रदान गर्दै आएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । अस्पतालको चुस्त व्यवस्थापनसँगै दैनिक ५०० को हाराहारीमा बिरामी उपचारका लागि अञ्चल अस्पतालमा आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



