स्तनपान: नवजात शिशुको पहिलो खोप

- नेपाली हेल्थ
  • डा. झलक गौतम 

नेपालमा बच्चा जन्माइसकेपछि सबैजसो आमाहरुले स्तनपान गराउँछन् । बच्चाका लागि आमाको दुध पहिलो प्राकृतिक खाना हो । बच्चालाई चाहिने सबैजसो पोषक तत्वहरु आमाको दुधमा पाइन्छ । जसले शिशुको बृद्धि विकासमा महत्वपूर्ण भुमिका राख्दछ । त्यसैलै आमाको दुधलाई सम्मानपूर्वक अमृत पनि भनिन्छ । संसारमा आमाको दुधको विकल्प छैन । स्तनपान सहज, सुरक्षित, शुद्ध र सस्तो पनि हुन्छ । सुपाच्य हुन्छ ।

विश्व स्वास्थ्य संगठनले बच्चा जन्मेको एक घण्टा भित्रै दुध चुसाउन, छ महिना (१८० दिन) सम्म आमाको दुध मात्रै चुसाउन (पूर्ण स्तनपान) र छ महिनापछि आमाको दुधसंगै थप पोषिलो आहार खुवाउन र कम्तिमा २ बर्षसम्म आमाको दुध चुसाई रहनुपर्छ भनेर सिफारिस गरेको छ ।

नेपालका सबैजसो आमाहरुले स्तनपान गराएता पनि पूर्ण स्तनपान ( छ महिनासम्म दुध मात्रै खुवाउने) को दर बिगतमा भन्दा घटदै गइरहेको पाइन्छ । सन् १९९६ मा गरिएको सर्भेक्षणमा करिव ७५ प्रतिशत आमाहरुले पूर्ण स्तनपान गराउँथे भने सन् २०११ र २०१६ को एनडीएचएस सर्भेले पूर्ण स्तनपान गराउनेको प्रतिशत क्रमश ७० र ६६ प्रतिशत भएको देखाएको छ ।

नेपाल सरकारले बालबालिकामा हुने कुपोषणको दर घटाउने उदेश्य राखेको छ । तर त्यसका लागि यो तथ्यांक चुनौतिको रुपमा रहेको छ ।

सरकारले बाल पोषण – स्तनपानलाई बालअधिकारको रुपमा स्वीकार गरी सोहि बमोजिमका नीति तथा कार्यक्रम ल्याएको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु विक्री वितरण नियन्त्रण गर्ने ऐन २०४९, नियमावली २०५१, शिशु तथा बाल्यकालिन पोषण रणनीति २०७३, नेपालको नवजात शिशु कार्ययोजना २०१५–२०३५, नवजात शिशु रणनीति २००४ आदि । जसले बालकुपोषण घटाउन मद्धत गर्नेछ र उनीहरुको बिरामी हुने र मृत्यु हुने दरमा पनि कमि ल्याउनेछ ।

स्तनपान गराउँदा आमा र शिशु /बच्चा दुबैलाई फाइदा पुग्दछ ।

स्तनपानले बच्चालाई के के फाइदा हुन्छ ?
१. बच्चाको भोक र प्यास मेट्छ, बच्चाको बृद्धि र विकासमा सहयोग गर्छ ।
२. बच्चाको आकस्मिक मृत्यु हुनबाट ७३ प्रतिशत सम्म घटाउन मद्धत गर्छ ।
३. बच्चाको बौद्धिक क्षमता ( सिक्ने, बुझ्ने, तर्क गर्न सक्ने, समस्या समाधान गर्न क्षमता ) बढाउँछ ।
४. बाल अवस्थामा हुने रक्त क्यान्सर, बाल मधुमेह, दम, छालाको रोग, कान पाक्ने रोग आदि कम गर्छ ।
५. बच्चाका लागि स्तनपान पहिलो खोप हो । आमाको स्तनबाट निस्कने पहिलो पहेँलो विगौती दुध (colostrum) मा बच्चालाई विभिन्न जिवाणु, विषाणुु र ढुसीहरुको संक्रमण हुनबाट जोगाउने तत्व विशेषखालको प्रोटिन (I9A)पाइन्छ । जसल बच्चालाई संक्रमणबाट जोगाउँछ ।
६. विभिन्न पोषक तत्वहरु कार्वोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन, खनिज, हर्मोन र इन्जाइम्सहरु पाइन्छ ।
७. बच्चाको कुपोषण घटछ, बिरामीपन र मृत्यु पनि घटाउन सकिन्छ ।

आमालाई हुने फाइदा
१. बच्चा जन्मिदा वित्तिकै स्तनपान गराएमा पाठेघरबाट रगत बग्न कम हुन्छ ।
२. नियमित स्तनपान गराएमा (२४ घण्टामा कम्तिमा ८–१० पटक) जन्मान्तर ढिलो हुन्छ ।
३. आमा र बच्चाको आत्मियता ÷प्रेम बढ्छ वा मानसिक सन्तुष्टि प्राप्त हुन्छ ।
४. स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
५. अनावश्यक शरीरको तौल बढ्न पाउँदेन र मधुमेह उच्चरक्तचाप हुनबाट जोगिन सकिन्छ ।
६. आर्थिक फाइदा हुन्छ ।

आमाको दुधमा पाइने तत्वहरु
१. कार्वोहाइट्रेड(शक्ति दिने) ल्याक्टोजिन आदि ।
२. प्रोटिन (शरीरको बृद्धिविकास गराउने) इम्यूनोल्वोवुलिन आदि ।
३. चिल्लो ( शक्ति दिने) ओमेगा कोलेस्ट्रोल, फ्याट्टी एसिडहरु ।
४. खनिज (शुक्ष्म पोषक तत्वहरु) क्याल्सियम फोस्फोरस, सोडियम, पोटासियम, जिंक, क्लोरिन आदि ।
५. भिटामिन ए,सि, डि, ई, के , फोलेट आदि ।
६. भोक जगाउने र नियन्त्रण गर्ने लगायतका अन्य जैविक तत्वहरु ।
७. फाइदा जनक जिवाणुहरु ।
८. पानी

अचेल आमाको दुधलाई प्रविधिको प्रयोग गरेर संचित गरेर राख्न पनि सकिन्छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले पनि आमा वा धाई आमाको स्तनपान गराउने बाताबरण नमिलेमा मानव दुग्ध बैंकमा उपयुक्त किसिमले जम्मा गरेको दुध अन्य व्यापारिक फमूलाबाट तयार गरिएको दुध भन्दा कैयाँै गुणा राम्रो र उपयुक्त हुन्छ भनेको छ । कतिपय विकसित देशहरुमा मानव दुग्ध बैंकहरुको स्थापना भएको छ ।

हाम्रै घरमा पनि यदि आमाको दुध बढी आउँछ भने सफा कचौरा वा ग्लासमा जम्मा गरि कोठा भित्रको तापक्रम करिब २५ डिग्री से मा ६–८ घण्टा भित्र राखी बच्चालाई खुवाउन सकिन्छ ।

बरफ राख्न सकिने व्याग वा भाँडोमा करिब २४ घण्टा र रेफ्रिजरेटरमा ४ डिग्री से तापक्रममा करीब ५ दिनसम्म संचित गरेर राख्न सकिन्छ । यसले कामकाजी महिला आमाहरुलाई विभिन्न फर्मूलाबाट तयार गरिएको दुध प्रयोग नगरी आफ्नै दुध बच्चालाई खुवाउन सहयोग पुरयाउँछ ।
नेपाल सरकारले सन् २०३० सम्म नवजात शिशुको मृत्यु १२ प्रतिहजार जिवित जन्ममा र बाल मृत्यु २५ प्रति हजार जिवित जन्ममा झार्ने प्रतिवद्धता जनाएको छ । सो लक्ष्य प्राप्तिका लागि विभिन्न नीति, कार्यक्रम र सुधारका कामहरु गरिएका छन् ।

कर्मचारी आमाहरुलाई सुत्केरी विदा दिने, कार्यालयहरुमा स्तनपान कक्ष निर्माण गर्ने, अस्पतालहरुलाई बालमैत्री घोषणा गर्ने, स्तनपान सप्ताह मनाउने, स्तनपानको महत्व र प्रचारप्रसार गर्ने, स्वास्थ्यकर्मीहरुर्लाइ सो सम्वन्धी आवश्यक तालिम र प्रशिक्षण दिने कार्यले सहयोगी भूमिका निर्वाह गर्नेछ ।

पूर्ण स्तनपान गर्न पाउनु बालअधिकारको विषय हो । पूर्ण स्तनपानले बाल कुपोषण घटाउँछ, बच्चाको विरामी र मृत्यु हुने दर पनि घटाउने हुँदा स्तनपान गराउने आमालाई परिवारका सदस्य, समाज र राज्यले पनि सहयोगी बाताबरण तयार गरिदिनुपर्छ । जसबाट राज्यले लिएको लक्ष्य पुरा गर्न सहयोग पुग्छ ।

# डा. गौतम बाल स्वास्थ्य तथा खोप शाखा प्रमुखको रुपमा कार्यरत छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *