‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु


लम्की, २३ जेठ । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ ।

नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ । जसले स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सङ्घ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन् ।

नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टासेर अभियान थालेको छ । दश बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भनी उल्लेख गरिएको छ ।

प्रतिबद्धतामा म टाफिक नियम पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति र कु संस्कारको अन्त्य गर्दै प्रतिबद्ध रहनेछु, म हिंसा र भेदभाव गर्ने छैन र कसैले हिंसा र भेदभाव गरेको थाहा पाए त्यसको प्रतिकार गर्छु भनी उल्लेख गरिएको छ । यी १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले बताए । “स्वास्थ्य नै धन हो । त्यसैले नगरपालिकाले स्वास्थ्यमा बढी लगानी गरेको छ”, प्रमुख रावलले भने, “यो अभियानले धेरैलाई जिम्मेवार बनाउने छ ।”

स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालयमा लैजाने बताए । “जिम्मेबार व्यक्तिले मदिरा सेवनजस्ता कार्य गर्दा समाज बिग्रिएको छ”, संयोजक रावलले भन्नुने, “कुलतजस्ता गलत बाटोमा लागेकालाई जिम्मेवार बनाउन र स्वास्थ्यप्रति सचेत गराउन अभियानले सहयोग गर्छ ।” नेपाली काङ्ग्रेसका नगर सचिव मोतिराम भण्डारीले नगरपालिकाले अभियानसँगै मदिरा नियन्त्रण, दुव्र्यसनी नियन्त्रण जस्ता कार्यमा कडाइ गर्नुपर्ने धारणा राखे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *