आवाज मात्रै सुनेका नातिलाई साढे एघार बर्षमा देखेपछि …

जाजरकोट, १९ जेठ । छेडागाड नगरपालिका–३ का रत्न सिंह दुबै आँखाले देख्न छाडेको साढे ११ वर्ष भएको थियो । यसबीचमा उनले आँखाको ज्योति फर्काउन सक्दो कोशिष नगरेका पनि होइनन् तर फर्किएको थिएन । यसपटक भने निशुल्क स्वास्थ्य शिविर लिएर गाँउमै आएका चिकित्सकको टोलीले उनको आँखाको गुमिसकेको ज्योति फर्काइदियो ।

‘नाती जन्मेको ६ महिना पछि मेरो आँखा बन्द भएको थियो । त्यसपछि उसको आवाजमात्रै सुन्थेँ । अहिले उ १२ बर्ष भयो । कति राम्रो भएछ । फेरी देख्न पाएँ । यतिवेला म जत्तिको खुशी को होला र ?’ ६१ बर्षीय सिंहले हर्षविभोर हुँदै भने ।

यसै साता कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा आयोजित निशुल्क स्वास्थ्य शिविरमा उनको आँखाको शल्यक्रिया गरिएको थियो ।

मोतिविन्दुको कारण गुमेको आँखाको ज्योति पुन फर्किएपछि निकै खुशी भएका सिंहले घर पुगेर खसी नै काटेर भोज गरेको बताए ।

सिंह मात्रै होइन, शिविरबाट छेडागाडकै विकले पनि आँखा देख्न सक्ने भएकी छन् । पाँच बर्ष देखि दुबै आँखा देख्न छाडेकी उनले फेरी देख्ने हुनसक्छु भनेर कल्पना समेत नगरेको बताइन ।

‘तर अचम्मै लागेको छ, म फेरि देख्ने भएकी छु’ । उनले आँखा नदेख्दा सबैले हेप्ने र दुःख दिने गरेको भन्दै अब आँखा देख्ने भएपछि घरको कामदेखि अरुलाई सघाउनेसम्मका काम गर्दै आएको विकले बताए ।

यी दुई मात्रै होईन यस्तै शिविरबाट कर्णालीका ६६३ जना पुनः संसार देख्न पाइएकामा खुशी भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा धेरैले पुनः संसार देख्न पाएका हुन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी उपस्थिति नहुनाले उपचार गर्न नपाएका र अर्थाभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै उपचार गर्न पाउँदा खुशी भएको उक्त नगरपालिका–४ का बलबहादुर सिंहले बताए ।

उनले भने, “यस्ता खालका शिविर पहिले भएका थिएनन्, गाउँमा त झन् को पो आउँथ्यो र ? अहिले हाम्रा लालबहादुर महतरा प्रदेश सरकारमा पुग्नुभएकाले हामीलाई घर नजिकै उपचार गर्न सहज भएको छ ।” अझै पनि दुर्गम गाउँमा आँखाका बिरामी भए पनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उनको भनाइ थियो ।

उक्त मन्त्रालयको सहयोगमा जिल्लाका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन् । अर्थाभाव भएका, अशक्त, र अपाङ्गता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको उक्त नगरपालिकाको स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *