रुकुमपश्चिम : चौरजहारी पूर्ण खोप सुनिश्चित नगरपालिका


रुकुमपश्चिम, १७ जेठ । चौरजहारी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । नगरपालिकाभित्रका १२ देखि २३ महीनासम्मका सबै बालबालिकाले एक वर्षको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरप्रमुख विशाल शर्माले नगरलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे । नगरका १४ वडामा रहेका ४५२ जना बालबालिकाको सर्वेक्षण गर्दा उनीहरु सबैले पाउनुपर्ने सबै खोपको मात्रा पाएको भेटिएको नगर स्वास्थ्य संयोजक अकवीर घर्तीले जानकारी दिए ।

उनको अनुसार नगर स्वास्थ्य शाखाले १४ वटै वडामा पुगेर यसबारेमा सर्वेक्षण गरेको थियो । नगरलाई पूर्ण खोप सुनिश्चित घोषणापछि अब नगरका बालबालिका खोपको अभावमा मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । स्वस्थ नगर निर्माणमा यस अभियानले सहयोग पुग्ने पनि उनले बताए ।

त्यस्तै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणाका लागि सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविका, नगरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई नगरपालिकाले बिहीबार सम्मान गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *