राष्ट्रिय खोप कार्यक्रम : विगत र वर्तमान

  • बसन्तकुमार श्रेष्ठ

राष्ट्रिय खोप कार्यक्रमले १५ महिना मुनिका बालबालबालिकाहरुलाई ११ थरि रोगबिरुद्ध (बीसीजी एक मात्रा, डी.पी.टी.हेपाटाईटीस “बी” हिब तीन मात्रा, ओ.पी.भी. तीन मात्रा, एफ.आई.पी.भी.दुई मात्रा, पीसीभी तीन मात्रा, दादुरा रुवेला दुई मात्रा जे.ई. एक मात्रा ) साथै गर्भवती महिलालाई दुई मात्रा टीडी खोप निःशुल्क रुपमा उपलब्ध गराउंदै आएको छ ।

यी खोपहरु प्रत्येक महिना १६ हजार बढि खोप केन्द्रहरुबाट उपलब्ध गराएको छ । यी सबै खोपहरु विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्ड अनुसार हुनुको साथै नेपाल सरकारको आफ्नै गुणस्तर मापन गर्ने औषधी ब्यबस्था बिभागले गुणस्तर मापन गरि दर्ता गरिएका खोपहरु मात्र प्रयोगमा ल्याईन्छ ।

ईतिहास
जब २०३४ अर्थात सन् १९७९ मा विश्वबाट बिफर जस्तो घातक रोग उन्मूलनको घोषणा गरियो तत्पश्चात विस्तारित खोप कार्यक्रमको नामबाट रुपन्देही, सिन्धुपाल्चोक र धनुषा जिल्लाबाट चार थरि रोगका बिरुद्ध बीसीजी र डीपीटी खोपको सुरुवात गरियो ।

त्यसपछि २०३५/३६ सालमा थप दुई थरि रोगको बिरुद्ध पोलियो र दादुरा रोगको खोप थप गरि जम्मा ६ थरि रोगबिरुद्ध एक बर्ष मुनिका बालबालिका हरुलाई निःशुल्क रुपमा दिन थालियो । यसरी २०४५/४६ साल सम्म आईपुग्दा देशभर अर्थात ७५ वटै जिल्लामा राष्ट्रिय खोप कार्यक्रम विस्तार गरियो ।

झण्डै ६० को दशकसम्म यिनै ६ थरि रोगको बिरुद्ध एक बर्ष मुनिका बालबालिकाहरुलाई खोप दिने कार्य चलिनै रह्यो । बि.सं. २०५९/६० मा आई पुग्दा हेपाटाईटीस “बी” बिरुद्धको खोप थप भयो । त्यसपछि सन् २००४ मा डीपीडी संगै हेपाटाईटीस “बी” एउटै खोप मा मिलाएर दिईयो ।

सन् २००८ मा अति प्रभावित ३१ जिल्लामा जापनिज ईन्सेफलाईटिस रोग बिरुद्धको खोप शुरु भयो । सन् २००९ मा डीपीडी, हेपाटाईटीस “बी” संगै ‘हिव’ थप भयो । त्यसैगरि सन् २०१३ मा दादुरा संगै रुवेला रोगबिरुद्ध पनि ‘एम.आर.’ खोप शुरु गरियो ।

सन् २०१४ मा पालियो रोगबिरुद्ध आई.पी.भी. खोप थप गरियो ।

सन् २०१५ मा निमोनिया बिरुद्ध पी.सी.भी. खोप थप गरियो । त्यसै बर्ष दादुरा रुवेलाको दोश्रो मात्रा थप भयो र जापानिज ईन्सेफलाईटिस खोप समेत ७५ वटै जिल्लामा शुरु गरियो ।

यसरी सरकारले ११ थरि खोप १५ महिना मुनिका बालबालिका हरुलाई देशभर निशुल्क उपलब्ध गराउंदै आएको छ ।

बर्तमान अवस्था
खोपको माध्यमबाट हाल बाल मृत्यु दर उल्लेख्य मात्रामा घटेको छ । साथै अहिले पालियो रोग उन्मुलनको चरणमा छ भने नवशिशु धनुष्टंकार सन् २००५ देखिनै निवारणको अवस्थामा छ । त्यसैगरि दादुरा २०१९ को अन्तसम्ममा निवारण गर्ने सरकारको लक्ष्य छ । अरु रोगहरु उल्लेख्य मात्रामा नियन्त्रणको अवस्थामा छ ।

तर सन् २०१९ को अन्त सम्ममा दादुरा निवारण गर्ने रणनितीमा चुनौती थपिएको छ । गत बर्षको जुन जुलाई ताका प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा दादुराको महामारी फैलिएको थियो भने यो वर्षको जनवरी फरवरी महिनामा कपिलवस्तु जिल्लाकै कृष्णनगर नगरपालिका को पाँच वटा वडामा दादुराको महामारी फैलिएको थियो ।

केही दिन अगाडी मात्र दाङ जिल्लाको राजपुर गा. पा. मा र मोरङ जिल्लाको सुनबर्षि नगरपालिकाको वडा नं. ७ र ८ मा पनि दादुराको विरामी भेटिएको थियो । यस्तै प्रदेश नं. २ को आठवटै जिल्लामा दादुराको विरामी भएकोे पुष्टि भएको छ । माथी उल्लेखित ठाउंहरुमा ओ.आर.आई.( आउटब्रेक रेस्पोन्स इमुनाइजेसन) सञ्चालन गरि दादुरा नियन्त्रणमा रहेको छ ।

माथी उल्लेखित सबै ठाउहरुमा जे जति दादुरा देखा परेको छ । अधिकांश बिरामी बच्चाहरुले दादुराको खोप नलगाएको पाइर्एको छ । तथ्य के हो भने सरकारले दादुरा निवारणको रणनिती अनुसार नै दादुरा खोप १५ महिना मुनिका बालबालिकाहरुलाई दुई मात्रा दादुरा खोप अनिवार्य रुपमा दिने निर्णय गरेको हो । एक मात्रा दिंदा जम्मा ८५ प्रतिशतलाई मात्र सुरक्षा प्रदान गर्छ भने दाश्रो मात्रा पाएपछि ९५ प्रतिशत सुरक्षा प्रदान गर्दछ ।

त्यसो त राष्ट्रिय जनसांिख्यक सर्वेक्षण २०१६ ले केवल नेपालमा ७८ प्रतिशत बालबालिकाहरुले मात्र पूर्ण खोप पाएको देखाएको छ । दादुरा रोग निवारणको लागि कम्तिमा ९५ प्रतिशत बालबालिकाले दादुरा खोप लगाएको हुनु पर्दछ तर अहिलेको तथ्यांक ले राष्ट्रिय रुपमा जम्मा ७७ प्रतिशत बालबालिकाले दादुराको दोश्रो मात्रा लिएको पाईन्छ ।

यसर्थ जहाँ जहाँ दादुरा फैलिएको छ ती ठाउँको स्थलगत अध्ययन गर्दा धेरै जसो खोप नलिएका दुई बर्ष देखि चौध पन्ध्र बर्षका बालबालिकामा बढि देखिएको छ भने छिटफूट रुपमा खोप लगाएका बच्चाहरुमा पनि पाईएको छ ।

यो बास्तबमा छुटेका २२ प्रतिशत र लगाएका मध्ये १५ प्रतिशत लाई सुरक्षा प्रदान गर्न नसक्ने खोपको प्रभावकारिता दरको कारणले भएको हुन सक्छ ।

बिगतमा खोप नलगाएको कारण नै अहिले दादुरा देखिनु वास्तविक कारण हुन सक्छ । आज नेपालमा मात्र होईन कि दक्षिण अफ्रिकी केही मुलुक साथै केही दक्षिण पुर्वी एसियाली मुलुकहरुमा धरै दादुराको महामारी फैलिएको छ । त्यसैले नेपालमा पनि यो बर्ष दादुरा निवारणमा चुनौती देखिएको छ ।

निश्कर्ष
समग्रमा के भन्न सकिन्छ भने खोप कार्यक्रम मा केवल सरकारको मात्र नभई सम्पूर्ण अभिभावकहरु, स्थानीय राजनितिक नेता, सामाजिक अगुवा शिक्षक, विद्यार्थी संघ संगठन लगायत सबैको अहम् भूमिका रहन्छ किनकि विगत ४० बर्षको प्रयासबाट सरकारको एकल प्रयासले जे जति सफलता हासिल भयो बाँकी उपलब्धि हासिल गर्न माथी उल्लेखित सबै को सामूहिक प्रयास जरुरी छ ।

यस कारण पूर्ण खोपको अवधारणा ल्याईएको हो । पूर्णखोपमा खोज र खोप भन्ने गरिन्छ । सबै बच्चालाई १५ महिनाको उमेर भित्र ११ थरि रोगका बिरुद्ध सवै खोप दिनु नै पूर्ण खोप हो ।

# श्रेष्ठ जनस्वास्थ्य अधिकृत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *