‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनुसन्धान जरुरी’

काठमाडौँ, २८ चैत । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य अनुसन्धान जरुरी रहेको बताएका छन् । उनले स्वास्थ्य अनुसन्धानले बास्तविकता उजागर गर्ने सोही अनुसार नीति बनाउन सहज हुने भन्दै यसमा दत्तचित्त भएर लाग्न सम्वन्धित अधिकारीहरु समक्ष आग्रह समेत गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलनको उद्घाटन गर्ने क्रममा आज राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ अनुसन्धानको खाँचो रहेको बताए । उनले अनुसन्धानका निचोडलाई व्यवस्थित गरी स्वास्थ्य नीतिमा उतार्नु पर्ने बताए ।

परिषदका कार्यकारी अध्यक्ष प्राडा अन्जनीकुमार झाले स्वास्थ्य अनुसन्धान अहिलेको आवश्यकता रहेको भन्दै परिषदले त्यसको प्रवर्धन गर्ने कार्यमा जुटेको बताए । उनले पछिल्लो पाँचबर्ष देखि बार्षिक रुपमा यसखालको सम्मेलन आयोजना गर्न थालिएको भन्दै यसले अनुसन्धान गर्ने बानीको विकास हुने बताए । मुलुक नयाँ संरचनामा जाँदै गर्दा स्वास्थ्य नीति पनि सोही रुपमा परिवर्तित हुनसक्ने भन्दै त्यसलाई सहयोग गर्न अनुसन्धान प्रतिवेदन सहायक सिद्ध हुनसक्ने उनले बताए ।

यसपटकको सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने छ ।

अध्यक्ष डा झाले देश संघीय संरचनामा जाँदा अबको स्वास्थ्यको नीति कस्तो हुने भन्ने बहस चलेको बताउँदै यो बेला अनुसन्धानको अझ बढी आवश्यक भएको दावी गरे । उनले अनुसन्धानवारे छलफल गर्न र जिम्मेवारीपूर्ण अनुसन्धान गर्न अनुसन्धानकर्तालाई प्रेरित गर्न सम्मेलन आयोजना गरेको स्पष्ट पारे ।

कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अनुसन्धानको महत्वको बारेमा प्रकाश पारेकी थिइन ।

शिखर सम्मेलनमा स्वदेश तथा विदेशका गरी १ हजार बढी स्वास्थ्य बैज्ञानिकहरुको सहभागिता छ ।

बुधबारबाट शुरु भएको तीन दिने सम्मेलन शुक्रबार सकिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *