स्वास्थ्यको तल्लो तहको समायोजन सूची किन आएन ? यस्तो छ कारण
काठमाडौँ, २४ चैत । समायोजन कार्य सकिएको घोषणा गरेको १० दिन पुग्नै लाग्दा सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका तल्लो तह (चौथो, पाँचौँ, छैटौँ / पाँचौँ, छैटौँ, सातौँ) तहका कर्मचारीको विवरण सार्वजनिक गर्न सकेको छैन । अब बिबरण कहिलेसम्म सार्वजनिक हुन्छ ? सामान्यका कर्मचारीले त्यो पनि दिन तोकेर भन्न गाह्रो मानिरहेका छन् ।
यद्धपी, सामान्य प्रशासन मन्त्रालय उच्चस्रोतले ती तहका अहेव र अनमी बाहेक अरु उपसमूहका कर्मचारीको समायोजन दुई चार दिन भित्रै हुनसक्ने बताएको छ । र, सबै कर्मचारीको समायोजन एक साता देखि १० दिन भित्र गरिसक्ने योजना रहेको जानकारी दिएको छ । तर यत्तिमै भर हुने अवस्था भने छैन । किनभने सामान्य प्रशासनका सचिव दिनेश थपलियाले २० चैत सम्ममा सबैको विवरण आइसक्ने बताएका थिए । सचिव थपलियाको सो दावी यति खेर फेल भएको छ ।
सामान्य प्रसाशन मन्त्रालय स्रोत भन्छ, ‘अहिले पनि स्वास्थ्यका चौथो देखि सातौँ तहका कर्मचारीको समायोजन विवरणमा देखिएका गल्ती सच्याउने काममै रोकिएको हो । ‘हामीले समायोजन सकिएको घोषणा गरेको १५ चैतकै दिनमा विवरण प्रकाशित गर्ने तयारी गरेका थियौँ । तर विवरणको फाइनल चेक गर्दा थुप्रै गल्ती भेटियो । त्यसलाई सच्याउन निकै अफ्टेरो भइरहेको छ,’ सामान्यका एक अधिकारीले भने ।
उनले अबको दुई देखि तीन दिन भित्र अहेव र अनमी बाहेकको विवरण प्रकाशित हुनसक्ने र त्यसपछि एक साता भित्रमा अहेव र अनमी सहित बाँकी सबै विवरण सार्वजनिक गर्ने तयारी भएको पनि बताए ।
सामान्यका ती अधिकारीले स्वास्थ्यका बढुवा, स्तरबृद्धिमा देखिएका ‘कन्फ्युजन’लाई ‘सफ्टवेर’ले ‘सर्पोट’ नगर्दा पनि केही ढिलाई भएको बताए । ‘थोरै संख्या होइन, विवरणको फाइनल चेक गर्दा थुप्रै गल्ती भेटियो । यसले झनै समस्या ल्याउछ भन्ने निस्कर्षमा हामीसंग स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले पनि सल्लाह दिनुभयो । त्यसपछि त्यसलाई सच्याउन तर्फ लाग्यौँ । अझै भ्याइएको छैन । यहि दिन सार्वजनिक गछौँ भन्ने अवस्था पनि छैन’ उनले भने ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गत १५ चैतमा पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन सकिएको घोषणा गरेका थिए । त्यसबेला उनले स्वास्थ्य समूहका २७ हजार ३०३ जना कर्मचारी समायोजनमा परेका र ती मध्ये ६५७ जना फाजिलमा रहेको जानकारी दिएका थिए ।
त्यस यता सामान्यले आंसिक रुपमा सातौँ सहित आठौँ, नवौँ र दशौँ तहका कर्मचारी समायोजनको विवरण प्रकाशित गरेको छ । त्यसमा पनि केही त्रुटिहरु भेटिएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




samayojan va ko xain vane kin samabodhan garnu paryo sarkar le.taar yadi samayojan va xa vane list sarbajanik garnu paryo
lalubabu le naitik hisab le rajinama dinu par6..