बाजुरामा पाँचदिने नि:शुल्क स्वास्थ्य शिविर


बाजुरा, २१ चैत । विपन्न समुदायलाई लक्षित गरी मार्तडीमा विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आर्थिक अभावले रोग पालेर बसेका अतिविपन्न समुदायलाई लक्षित गरी पाँचदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । जिल्लाको तल्लो क्षेत्रमा पर्ने पाँच स्थानीय तहका अति गरीब र वर्षौँदेखि रोग पालेर बसेकालाई लक्षित गरी शिविर सञ्चालन गरिएको मन्त्रालयका सचिव गगन हमालले बताए।

जिल्लामा एक दर्जन विशषेज्ञ चिकित्सकसहितको उपस्थितिमा गरिएको पहिलो शिविर हो । आयुर्वेदसहितको विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । शिविरमा १० बढी विशषेज्ञ आएर सेवा दिइरहेका छन् । शिविर १८ र १९ गते बाजुराकै कोल्टीमा सञ्चालन गरिएको थियो ।

दुर्गम गाउँमा बसोबास गर्ने अतिविपन्न परिवारका वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको आयुर्वेदसहितको विशेषज्ञ स्वास्थ्य शिविर पाँच दिनसम्म मार्तडीमा चल्ने बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताए ।

शिविरको पहिलो दिन ९०० बढीले नाम लेखाएका छन् । विशेषज्ञ नै जिल्लामा आएको र निःशुल्क स्वास्थ्य उपचार हुने भएपछि उपचार गराउनेको बाक्लो उपस्थिति देखिएको छ । शिविरको पहिलो र दोस्रो दिन उपचार सेवा र नाम दर्ता गराउने कार्य गरिने र तेस्रो दिनबाट शल्यक्रिया सञ्चालन हुने आयोजकले जनाएका छन् । शिविर चैत २५ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्ने आयोजकको भनाइ छ ।

लामो समयदेखि रोग पाली बसेका, दुखाइ सहँदै गरेका बढीभन्दा बढी बिरामीको उपचार गर्नु शिविरको लक्ष्य रहेको र त्यसैअनुसार सेवाप्रवाह गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डा पुजन रोकायाले बताए ।

शिविरमा हाडजोर्नी, स्त्रीरोग, डेन्टल, बालरोग, फिजिसियन क्षेत्रका सबै विशषेज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । शिविर सञ्चालन हुँदा स्थानीयवासी खुशी छन् । जिल्ला बाहिर गएर उपचार गराउन नसक्ने र आर्थिक रुपमा निकै विपन्न परिवारलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गरिएकाले सबैले सेवा लिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *