‘रक्तदानमा महिलाको सहभागिता बढाउन आवश्यक’


काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले रक्तदानमा महिलाको सहभागिता बढाउनुपर्ने बताएकी छन् । उनले रक्तदानका विषयमा सुनिएका भ्रमका कारण कतिपय महिलाहरु अघि नसरेको भन्दै त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

शनिबार ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को २६ औं स्थापना दिवस तथा चौथो राष्ट्रिय रक्तदाता दिवस समारोहलाई सम्वोधन गर्दै खड्गीले रक्तदानका क्षेत्रमा स्वयंसेवी संस्थाहरुले गरेको कार्यको प्रशंसा समेत गरिन ।

कार्यक्रमलाई सम्वोधन गर्दै ब्लोदानका अध्यक्ष ई. सानु बाबु प्रजापतिले रक्तदानको क्षेत्रमा आफ्नो संस्थाले गरेको क्रियाकलापको चर्चा गरेका थिए । उनले विना शोधभर्ना बिरामीलाई रगत उपलव्ध गराउने बाताबरण बनाउनुपर्ने र त्यसका लागि राष्ट्रिय रक्त अभियानमा सरोकारवाला निकायबीच सहकार्य हुनुपर्ने जोड दिए ।

सोहि कार्यक्रममा बोल्दै सञ्चारउद्यमी भाष्करराज राजकर्णिकारले स्वयंसेवी रक्तदानको क्षेत्रमा ब्लोदानले धेरै कार्य गरेपनि प्रचारप्रसारको कमीले अलि ओझेल परेको बताए ।

ब्लोदानका वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले स्वयंसेवी रक्तदान अभियानमा विगत तीन दशकदेखि लागिरहेको संस्थालाई हाल बन्दै गरेको रक्तसंचार सेवा भवनमा स्थान उपलब्ध गराउन माग गरिन ।

कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, वरिष्ठ हांस्य कलाकार सन्तोष पन्त, ब्लोदानका वरिष्ठ सल्लाहकार सुभाष गोयल, लोकनारायण सुवेदी, विदुर खड्का तथा सल्लाहकारहरु ललीकबहादुर महर्जन, ज्ञानुराजा महर्जन, रमेशध्वज बस्नेत, शिव मन्दिल श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, भारती कसाः तथा संजिव खनाल लगायतले व्लोदानलाई शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा ब्लोदानका वरिष्ठ सल्लाहकार एवं केन्द्रीय रक्तसंचार सेवाका पूर्व जनसम्पर्क अधिकृत सूर्यकुमारी श्रेष्ठले ब्लड फण्डमा रु. ५० हजार थप सहयोग गरिन ।

कार्यक्रममा ब्लड फण्डमा सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विश्व सम्पदा सूचीमा सुचिकृत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ब्लोदान काठमाडौं जिल्ला शाखालाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने मंकाखलः व्यवस्थापन समितिलाई पनि सम्मान गरिएको थियो ।यसैगरी रक्तदानको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको सहकारी संस्थाहरुको संघ काठमाडौं बचत तथा ऋण सहकारी संघ र ब्लोदान बीच हरेक हप्ता रक्तदान कार्यक्रम आयोजना गर्ने सम्बन्धमा समझदारी पत्र आदान प्रदान गरियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *