जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

 

जाजरकोट, ६ फागुन । जाजरकोट अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । जिल्ला अस्पताल ५० श्याको भए पनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो ।

अस्पतालमा डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिए। गतवर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले केही सामान्य शल्यक्रियाका काम गरे पनि काज सकेर फर्केपछि प्रसूति सेवा बन्द भएको थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको लामो प्रयास, नगरप्रमुख चन्द्रप्रकाश घर्तीको निरन्तरताको प्रयासबाट जिल्लामा चिकित्सक आएपछि जिल्ला अस्पतालमा नै शल्यक्रिया सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् ।

अस्पतालमा शुक्रबारदेखि आइतबारसम्म चार जनाको सफल प्रसूति सेवा र एकजना भेरी नगरपालिका–४ की प्रमिला चन्दको शल्यक्रिया गरेर बच्चा निकालिएको डा भुपेन्द्र मल्लले जानकारी दिए । चन्दको शल्यक्रियामा डा सिलवालको नेतृत्वमा, डा मल्ल, डा केशरजङ्ग कार्की, डा अमन रञ्जीत, नर्स विद्या खत्री लगायत संलग्न थिए ।

अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने क्षमता भएको डा। मल्लले जानकारी दिए । सञ्चालनमा आएको आकस्मिक प्रसूति सेवा निःशुल्क प्रदान हुने अस्पतालले जनाएको छ । सरकारले प्रसूति सेवा निःशुल्क गरेको छ । आइतबार साँझ बारेकोट गाउँपालिकाकी तीर्थ शाहीको एपेन्डसाइटको शल्यक्रियासमेत गरेको डा मल्लले जानकारी दिए ।

अति जटिल बाहेक सबै प्रकारका शल्यक्रिया सेवा अस्पतालबाटै दिन सकिने भएको उनले बताए । अब बिरामीलाई सामान्य खालका शल्यक्रियाका लागि पनि चौरजहारी, नेपालगञ्ज जानुनपर्ने उनको भनाइ छ ।भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताए । जिल्लामै गुणस्तरीय सेवा दिनसक्ने भरपर्दो अस्पताल बनाउन आफ्नो भरपुर प्रयास रहने उनले बताए । अब शल्यक्रियाकै लागि नेपालगञ्ज र काठमाडौँ जानु नपर्ने डाक्टर मल्लले बताए ।

जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउन नगरपालिकाले शववाहन उपलब्ध गराउने नगरप्रमुख घर्तीले बताए । शल्यक्रियादेखि अन्य काम गर्न भौतिक संरचनाको अभाव हुँदा काम गर्न समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । निर्माण व्यवसायीले प्रसूति गृहको भवन निर्माण नगर्दा दैनिक सेवा प्रवाहमा समस्या भएको हो । जाजरकोटका सबै स्थानीय तहले पनि आफ्ना मातहतमा रहेका स्वास्थ्य संस्थालाई सक्रिय बनाई दैनिक कामकाजमा सहजता बनाएको बताएका छन् । जनताको जनजीवनसँग जोडिएको स्वास्थ्य जस्तो संवेदशील विषयका लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *