मानसिक रोगीको चाप बढ्दो, विशेषज्ञ अपुग

ललितपुर, २८ माघ । बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ ।

एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा तीन जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो । मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भए पनि यहाँ जम्मा आठ जना मात्रै मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको अस्पतालका प्रवक्ता (प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट) अनन्त अधिकारीले बताए ।

अस्पतालमा व्यवस्थापनको जिम्मेवारी पाउनुभएका निर्देशक (मानसिक रोग विशेषज्ञ) एक , प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट दुई र वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट छ जनाको दरबन्दी छ । अस्पतालमा बहिरङ्ग र अन्तरङ्ग विभाग दुवैतिर आउने बिरामी बढिरहे पनि त्यसको अनुपातमा मानसिक रोग विशेषज्ञको दरबन्दी नबढेको उनले बताए । उनले भने, “बहिरङ्ग विभागमा एक जना विशेषज्ञले ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।”

मानसिक स्वास्थ्यप्रति नागरिकमा सचेतना बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले बताएको छ । अस्पतालमा देशभरका धेरै स्वास्थ्य संस्थाबाट समेत बिरामी सिफारिस ९ भएर आउने गरेको अधिकारीले बताउनुभयो । अर्कातिर यहाँ ११ जना आवासीय चिकित्सक कार्यरत रहेको अस्पतालले बताएको छ ।

उनीहरुलाई सिकाउनुपर्ने समेत जिम्मेवारी पनि रहेको यहाँ कार्यरत एक मानसिक रोग विशेषज्ञले बताए। उनले भने, “एकातिर आवासीय चिकित्सकले हामीलाई केही सहयोग हुन्छ भने अर्कातिर हामीले उनीहरुलाई सिकाउने जिम्मेवारी पनि हुन्छ ।” अस्पतालमा ३० श्यया सधैँ भरिने गरेको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी नियमित जाँचका लागि आउने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *