खोटाङमा बिशेषज्ञ घुम्ती शिविर : साढे ४ हजारको स्वास्थ्य परीक्षण


खोटाङ,२६ माघ ।  जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको नि:शुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविरमा ४ हजार ५ सय सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आउनेहरुलाई १५ लाख बढीको  औषधि, ५ हजार बढी दन्त मञ्जन नि:शुल्क वितरण गरेको आयोजकले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आयोनजामा गत १३ देखि २४ माघसम्म निशुल्क रुपमा घुम्ति विशेषज्ञ स्वास्थ्य शिविर चलेको थियो । उक्त शिविर मानेभञ्ज्याङ,साकेला,ओख्रे,जनसेवा दिहु,चिप्रीङ,सिम्पानी,खोटाङ बजार,चिसापानी बजार र धर्तुङमा सञ्चालन भएको उपचारात्मक महाशाखाका डा. प्रकाश बुढाथोकीले बताए ।

घुम्ती अस्पताल शिवीरमा छाला, हाडजोर्नी,छाती,बाल स्वास्थ्य लगायतका सेवा उपलव्ध थियो । यसैगरी सामान्य,जेष्ठ नागरिक, दाँत तथा मुख,आँखा,महिला सम्बन्धी रोग,स्तन क्यान्सर स्क्रिनीङ,भिडियो एक्सरे,चिनीरोगको परीक्षण,आर्युवेद, योग तथा जीवनशैली ब्यवस्थापन, सामाजिक सेवा ईकाई र औषधी बितरण सेवा निशुल्क प्रदान गरिएको थियो ।

सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाण्डौमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम,सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको शिवीर संयोजक तथा उपचारात्मक सेवा महाशाखाका डा बुढाथोकीले बताए ।

परीक्षण गरिएका २५ प्रतिशतको स्तनमा गिर्खा

निशुल्क स्वास्थ्य शिविरमा परीक्षणका लागि विभिन्न स्थानबाट आएका २५ प्रतिशत बढी महिलाको स्तनमा गिर्खा भेटिएको छ । ‘उक्त शिविरमा ४ सय महिलाको म्यामोग्राफी गरिएकोमा थियो त्यसमध्ये १०५ जनाको स्तनमा गिर्खा भेटियो,’ डा. बुढाथोकीले भने ।

यस्तै शिविरमा ७ सय १६ महिलाको स्त्री रोग सम्वन्धी उपचार, १ सय १३ जनाको चिनीरोगको पहिचान, ७ सय ६४ जना बिरामीको दा“तको उपचार र ७ सय १५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै १ सय ३५ जना अन्य र ६८ जना आँखाको बिरामीलाई शल्यक्रिया गर्नका लागी अभिलेख राखिएको संयोजक डा. बुढाथोकीले जानकारी दिए ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवका स्वास्थ्य सल्लाहाकार डा. के के राईले नेतृत्व गरेको चिकित्सकहरुको टोलीमा बरिष्ठ कन्सलटेण्ट डेण्टल सर्जन डा. बुढाथोकी, बरिष्ठ रेडियोलोजष्ट डा. कृष्ण बुढाथोकी, बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. साभना प्रधान, फिजिसियन डा. रोहेन्द्र पाण्डे,डा. सुमीत प्रजापति,हाडजोर्नी बिशेषज्ञ डा. सरोज राई,डेण्टल सर्जन डा.अमिता राई,डा.नवराज घिमीरे खटिएका थिए ।

यस्तै डा. राजीव कुमार मण्डल,आर्युवेद चिकित्सक डा.साभ्यता पन्थी,डा. सुनील भण्डारी,आ.स. सिर्जना जयसवाल,अप्टोमेट्रिसियन मिनु श्रेष्ठ, हे.अ. ज्ञानु कार्की, हेअ दौलत तुलाधर, ज.अ. भवानी शर्मा,ज.अ. योगेन्द्र पञ्जियार ल्याब टेक्निीसीयन पंकज थारु,नर्सिङ अधिकृत यशोदा गिरी लगायत २२ जना स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

उनीहरु नरदेवी आर्युवेद अस्पताल, वीर अस्पताल, पाटन अस्पताल,कान्तिपुर डेण्टल हस्पिटल, कीर्तिपुर आँखा अस्पताल लगायत अन्य संघसंस्थाहरुका बिशेषज्ञहरु थिए ।

सेवा प्रदायक सेवाग्राही कहाँ र रोगको पहिचान गरी समयमै उपचार प्रदान गर्ने उदेश्यले उक्त निशुल्क बिशेषज्ञ घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मनिषा रावलले बताइन ।

यस्तै घुम्ती बिशेषज्ञ स्वास्थ्य शिविर यसअघि खोटाङको उत्तरी जाल्पा,बाक्सिला,दार्गाम्छा,ऐशलुखर्क र हलेसी ५ स्थानमा पौष २३ गते देखी ११ दिन गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *