जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठान बनाउन माग
दमौली, २३ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार समक्ष आग्रह गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको मंगलबार अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यसअघिको सरकारले प्रतिष्ठान बनाउने निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न माग गरे ।
उनले भने, “तत्कालिन देउवा नेतृत्वको मन्त्रिपरिषद्बाट नाममा सुधार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय भएको छ । वर्तमान सरकारले उक्त निर्णयलाई कार्यान्वयन गरोस् ।”
नेता पौडेलले तत्कालीन समयमा सम्बन्धित मन्त्रीले चासो नदिएकाले पनि निर्णय कार्यान्वयन हुन नसकेको बताए । नेपाली काङ्ग्रेसको आन्दोलनका कारण उपचार केन्द्र सङ्घीय सरकार मातहत रहन सफल भएको उनको जिकीर थियो ।
अस्पताल भनेको सबैको साझा भएकोले यसलाई सुधार गरेर प्रभावकारी बनाउनुपर्नेमा पौडेलले जोड दिए । सो अवसरमा नेता पौडेलले उपचार केन्द्रको नाममा रहेको जग्गाको अवलोकन गरेका थिए ।
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अस्पतालको नामको विषयमा अब अल्झिनुभन्दा जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा जोड दिए । उपचार केन्द्रका निवर्तमान सदस्य शेषमणि आचार्यले नामकरणको विषयमा कुनै मदभेद नरहेको स्पष्ट पार्दै अस्पतालमा भएको समस्या केन्द्रीयस्तरमा बसेर टुङ्ग्याउन वरिष्ठ नेता पौडेलसँग आग्रह गरे ।
अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले एक हप्ताभित्र अस्पताललाई ५० शय्याको बनाउन लागिएको जानकारी दिए । रासस
सम्पर्क इमेल : [email protected]