डा. केसीको अनशनविरुद्ध भेला गर्दै आइओएमका चिकित्सक
काठमाडौँ, १७ माघ । अस्पताललाई अनशनमुक्त क्षेत्र बनाउन दवाव सिर्जना गर्न चिकित्सक, प्राध्यापक, नर्स, विद्यार्थी तथा विरामीका आफन्तहरु आज त्रिवि शिक्षण अस्पताल परिसरमा भेला हुँदैछन् । विहान साढे ११ बजे भेला भएर उनीहरुले डा गोविन्द केसीको अनशनको विरोध गर्ने बताएका छन् ।
डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा १६ औँ पटक अनशन गरिसकेका छन् । पछिल्लो पटक अनशनको आज २३ औँ दिन हो ।
महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व प्रमुख प्राडा रामप्रसाद उप्रेतीले संयोजन गरेको भेलामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक, चिकित्सक, नर्स, तथा अन्य प्यारामेडिक्सका अलावा विद्यार्थीहरुको सहभागीता हुने बताइएको छ ।
‘जहिले पनि एउटा एउटा नारा दियो अनशन बस्यो । अस्पतालको अवस्था कस्तो छ मतलव छैन, विरामीलाई कति सास्ती छ त्यो पनि वास्ता छैन । सधै अस्पताललाई बन्धक बनाएको छ । स्वास्थ्य अत्यन्तै नाजुक भन्दै व्ल्याक मेलिङ्ग गरेको छ । विरोध गरे माफियाको पगरी गुथाईदिएको छ । यसरी कहिलेसम्म चुप लाग्ने । त्यसैले आज हामीले अस्पताललाई अनशनमुक्त क्षेत्र बनाउ भन्दै भेलाको आयोजना गरेका हौँ ,’ संयोजक बनेका प्राडा उप्रेतीले भने ।
उनले चिकित्सकलाई काम गर्ने बाताबरण बनाउन चिकित्सक संघको पनि भूमिका हुने भन्दै संघले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । बिरामीहरुको सेवा गर्ने चिकित्सकहरु जहिले पनि आन्दोलनमा उत्रनु ठिक नभएको भन्दै त्यसमा माउ संस्था चिकित्सक संघले विशेष भुमिका खेल्नुपर्ने उनको तर्क छ ।
अस्पतालमा अत्यावश्यक ऐन अन्तरतर्गत बन्द हड्ताल गर्न नपाइने आदेश दिने पूर्व प्रधानन्यायाधीशहरु अहिले डा केसीको अनसनलाई प्रवर्धन गर्न लागिरहेको भन्दै उनले आपत्ति जनाए ।
‘कानुन सबैलाई लाग्छ होला । ती पूर्व प्रधानन्यायाधीशहरुले पनि कानुन त पढेकै होलान् । अनि उनीहरु आएर अनशन बसेर ठिक गर्नु भयो भन्न मिल्छ ? विगतमा डा केसी विरुद्धका मुद्धाहरु किन झुलाईदा रहेछन् भन्ने पनि त अहिले बुझिँदै गएको छ नि,’ उनले पूर्वप्रधानन्यायाधीश माथि समेत आक्रोस व्यक्त गरे ।
डा. केसीलाई भेटन मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ मंगलबार र सुशीला कार्की बुधबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

