बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलको साथ
काठमाडौँ, १६ माघ । ‘बी’ डिभिजन क्लब बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले प्रायोजन गरेको छ । स्पार्क हस्पिटलले बाँसबारी क्लबलाई एक वर्षका लागि करीब रु आठ लाख बराबरको प्रायोजन गरेको हो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बाँसबारी क्लब र स्पार्क हेल्थ होम हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौँता पत्रमा क्लबका अध्यक्ष प्रेम थापा र अस्पतालका तर्फबाट निर्देशक रूपेश अधिकारीले हस्ताक्षर गरेका छन् । क्लबका अध्यक्ष प्रेम थापाले स्पार्कको प्रायोजनले ‘बी’ डिभिजन लिग खेल्न क्लबलाई धेरै राहत दिएको बताए ।
स्पार्कका निर्देशक रूपेश अधिकारीले बजेट सन्तुलनलाई हेर्दै ‘बी’ डिभिजन क्लबसँग गाँसिएको बताए । “‘ए’ डिभिजन क्लबसँग जोडिन प्रयास गरेका थियौँ तर बजेटको सीमारेखा हेर्दा बाँसबारी छनोटमा परेको छ,” उनले भने ।
सो अवसरमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई बलियो बनाउन एन्फा लागिरहेको बताउँदै बाँसबारीको प्रायोजनलाई सोहीअनुसार लिनुपर्ने बताए । सम्झौतासँगै क्लबले स्पार्क हस्पिटल बाँसबारीको लोगो अङ्कित जर्सीको प्रयोग गर्नेछ । ‘बी’ डिभिजन लिग यही माघ २५ गतेदेखि शुरु हुँदैछ । रासस
सम्पर्क इमेल : [email protected]