चिकित्सकले रिले अनशन बस्न बनाइएको शिक्षण अस्पतालको टेन्ट कसले हटायो ?

काठमाडौँ, १५ माघ ।  त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले रिले अनशनका लागि तयार गरेको टेन्ट हटाइएको छ । अस्पताल प्रशासनले कसले हटायो भन्नेमा अनविज्ञता प्रकट गरेको छ । आन्दोलनरत चिकित्सकहरुले भने अस्पताल प्रशासनले रातारात हटाएको आरोप लगाएका छन् ।

डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै संघले हिजोबाट सामुहिक रिले अनशन बस्न शुरु गरेको थियो । डा केसी अनशन बसेको भवन बाहिर टेन्ट गाडेर रिले अनशन सुरु गरेपछि अस्पताल प्रशासनले त्यसो नगर्न चिकित्सक संग आग्रह गरेको थियो । यसपछि टेन्ट हटेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले आफूसंग अनुमति नलिई टेन्ट गाडेपछि त्यसो नगर्न चिकित्सक संघलाई पत्राचार गरेको बताए । तर उनले पछि कसले टेन्ट हटायो भन्ने आफूलाई जानकारी नभएको दावी गरे ।

‘टेन्ट गाडेर अनशन बसेका छन् भन्ने मैले सुनेपछि हिजो पत्र पठाएको हुँ । त्यसपछि आज यहाँ आउँदा टेन्ट हट्यो भन्ने पनि सुनेँ । मैले त उहाँहरुले नै हटाउनु भयो होला भन्ने ठानेको हुँ । कसले हटायो भन्ने मलाई थाह छैन ।’ खड्गाले भने ।

चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डी पौडेलले प्रशासनले रातारात टेन्ट हटाएको बताए । उनले आफूहरु टेन्ट विना नै रिले अनशन बसेको जानकारी दिए । ‘म्याट ल्याएका छौँ । त्यसमा बसेर घाम ताप्दै अनशन बसिन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *