मरणोपरान्त अंगदान गर्ने अभियानमा एपोन र प्रत्यारोपण केन्द्रबीच सम्झौँता

काठमाडौँ, ८ माघ । मरणोपरान्त अंगदान गर्ने अभियानलाई प्रवर्धन गर्न नेपाल औषधि उत्पादक संघ (एपोन) र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झौँता भएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष दीपकप्रसाद दाहाल र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौँता पछि एपोनले आगामी आगामी १७ देखि १९ फागुनसम्म चितवनमा हुने सातौँ फर्मा तथा हेल्थ एक्स्पोका बेला कम्तीमा एक हजार जनाले अंगदान गर्ने दावी गरेको छ ।

त्यसअघि बोल्दै एपोनका अध्यक्ष दाहालले मरेपछि खरानी हुने अंग कसैको जीवन बचाउनका लागि काम लाग्छ भने त्यसलाई किन समर्थन नगर्ने भन्दै अभियानमा सहकार्य गर्न चाहेको प्रष्ट पारे । उनले औषधि उद्योग अस्पताल, डाक्टर र विरामीसंग बढी नजिक हुने र उनीहरुले प्रवर्धन गर्दा बढी प्रभावकारी हुने भन्दै यसलाई संस्थागत रुपमा नै अघि बढाउन लागेको बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले अंगदान कार्यलाई प्रवद्र्धन गर्ने अभियानमा नेपाली औषधि उत्पादकले देखाएको सक्रियताको खुलेर प्रसंशा गरे । उनले मस्तिस्क मृत्यु सम्वन्धी कानुन बनिसकेको र त्यसले मिर्गौला, फोक्सो, मुटु, पेनक्रियाज, कलेजो, सानो आन्द्रा लगायतका ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भएको भन्दै त्यसलाई अघि बढाउन जनचेतनाको खाँचो रहेको बताए ।

उनले ब्रेन डेथ भएका व्यक्तिको अंग लिनका लागि अहिले प्रत्यारोपण केन्द्रमा ४ सय बढीले निवेदन दिएको र ६० भन्दा बढी हरेक तीन महिनामा आवश्यक पर्ने परीक्षण गराई अंगको पर्खाईमा रहेको बताए ।

उनले अंगदान सम्वन्धी कानुन बनाउन जसरी सञ्चारमाध्यमले सहयोग गरेका थिए त्यसैगरी सहयोग ब्रेनडेथ पछिको अंगप्रत्यारोपण सम्वन्धी अभियानमा पनि हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

एपोनका पदाधिकारीले चितवनमा हुने एक्स्पोमा अंगदानसम्वन्धी घोषणा गर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *