खोटाङमा विशेषज्ञ सहितको नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न

खोटाङ, ६ माघ । सेवा प्रदायक सेवाग्राहीकहाँ र रोगको पहिचान गरी समयमै उपचार प्रदान गर्ने उदेश्यले आयोजना गरिएको १० दिने विशेषज्ञ सहितको निशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, उपचारात्मक सेवा महाशाखाको आयोजना उक्त शिविर उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा चलेको थियो । शिविरका लागि स्थानीय सहयोगी संस्था हस्पिटल फर ईर्मजेन्सी केअर एण्ड सहयोग थियो ।

उक्त शिविरमा छाला, हाडजोर्नी, वालरोग, छाती, सामान्य, जेष्ठ नागरिक,दाँत तथा मुख,आँखा, महिला सम्बन्धी रोग, स्तन क्यान्सर स्क्रिनीङ, भिडियो एक्सरे,आर्युवेद, योग तथा जीवनशैली ब्यवस्थापन सम्वन्धी सेवा उपलव्ध गराइएको थियो । उक्त शिविरमा निशुल्क आवश्यकता अनुसार औषधि समेत निशुल्क प्रदान गरिएको थियो ।

शिविरमा सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाडाँैमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम, सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको संयोजक डा. प्रकाश बुढाथोकीले बताए ।
आर्युवेद बिभाग, न्याम्स वीर अस्पताल, शुक्रराज ट्रपीकल अस्पताल, ग्राण्डी अस्पताल र नेपाल आँखा अस्पतालका बिशेषज्ञहरु संलग्न उक्त शिविरबाट ३ हजार बढीले सेवा लिएका छन ।

गत पुस २२ देखी ३० गतेसम्म संचालन भएको उक्त शिविरमा २ सय महिलाको म्यामो गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको निर्धक्क हुन सुझाईएको छ ।

सोही शिविरमा ५ सय ८५ जना बिरामीको दाँत निकालिएको र १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो । १ सय १९ जना आँखाको बिरामीलाई शल्यक्रिया गर्नका लागी रेर्कड राखिएको छ । त्यसैगरी अन्य जटिल शल्यक्रियाका लागी १ सय ८९ जनाको अभिलेख तयार भएको छ । आर्युवेदिक, होमीयोप्याथिक र एलोप्याथीक गरी १० लाख बढीको औषधी निशुल्क बितरण भएको छ ।

शिविरको नेतृत्व डा बुढाथोकीले गरेका थिए । उनीसंगै डा. विश्व दवाडी, डा. साधना आचार्य, डा.सुरक्षा बास्कोटा, डा. सरोज कुमार राय, डा. चाँदनी जयसवाल, डा. मनोज कुमार महत, डा. सुनील तामाङको टोली खटिएको थियो । त्यस्तै आ.स. कल्याण ढुगांना, हे.अ. भुवन पुरी, हेअ दौलत तुलाधर, हेअ अमृतजंग बस्नेत, डेअ धर्मेन्द यादव, नर्स शर्मिला आचार्य, सहयोगीहरु अर्चना के.सी., कुसुम श्रेष्ठ, झुमा पोखे्रल, तेजमाया राई, नवीन राई लगायत २५ जना स्वास्थ्यकर्मीहरु काठमाडौँबाट तथा स्थानीय प्राथमीक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरु उक्त शिवीरमा संलग्न थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *