‘तनाव घटाउने औषधि रक्सी होइन है साथी’

  • सन्तोष लामिछाने

नेपाली समाज निक्कै बदलिएको छ । मोर्डन सोसाइटीको नाम जपेर गरिने कतिपय देखासिकी वा क्रियाकलापले विस्तारै परिवारलाई भड्याउँदै छ ।

धेरै भुमिका नबनाउँ, खुसियालीका पार्टीमा होस् या तनावको बोझबाट छुट्कारा पाउँने निहूमा होस् सेवन गरिने मादक पदार्थ (रक्सी) यतिवेला समाजले सामान्य मान्न थालेको छ । रक्सी मात्रै के कुरा तनावबाट मुक्तिकै लागि अथवा ‘रिल्याक्सेसन’का लागि भनेर गरिने लागूऔषधको प्रयोग अनि दुब्र्यसनी बन्ने समस्या उस्तै गरी फिजिएको छ । बास्तवमा यसले चुनौती नै थपेको छ ।

तनाव घटाउने निहूँमा सेवन गरिने ह्स्किी, रम, बिएर, देखि लोकल ठर्रा मात्रै होइन आधुनिक पुस्ताले प्रयोग गर्ने भनिएको कोकिन, हिरोइन, अफिम, गाँजा, ब्राउन सुगर, चुरोट, खैनि, आदिको सेवनले धेरै मानिसको जीवनमा नकारात्मक प्रभाव पारेको पाइएको छ ।

यी पदार्थले केही समयको लागि तनाव कम गरी आनन्दको अनुभुती त दिए जस्तो मानेपनि दीर्घकालिन रुपमा यसले मानिसलाई ठूलो नोक्सान पुरयाउँछ ।

तनावकै कुरा गरौँ न, अमेरिकन इन्स्टिच्युट स्ट्रेस एन्ड साइकोलजिकल एसोसियसनका अनुसार ८० प्रतिशत कामदार आफ्नो कामको कारण स्ट्रेसको सिकार हुने गरेको तथ्यांकले देखाएको छ र युनाईटेड नेसन्स् अफिस अन ड्रग एन्ड क्राइमको पछिल्लो तथ्यांकले विश्वभर तीन करोड मानिस लागुऔषध दुर्ब्यसनबाट प्रभावित भएको देखाएको छ । हाम्रो देशमा यसको यकिन तथ्यांक प्राप्त गर्न त कठिन छ तर यसबाट प्रभावित हुनेको संख्या निकै धेरै भएको कुरा अनुमान गर्न गाह्रो छैन ।

वैदेशिक रोजगारको बाध्यता, प्रेम वियोग, व्यापार घाटा, बेरोजगारी र राजनीतिक असन्तुलनले यसको तनाव बढाएको छ मानिसलाई दुर्ब्यसन् मा फसाएको छ ।

आजको समाजमा सबैभन्दा चिन्ताको विषय यो हो कि आज देशका कर्णधार मानिने स्कुले विद्यार्थी, किसान अनि मजदुर लागू औषध दुर्ब्यसनमा फसेका छन।

हुन त मानिसको तनाव कुनै वैज्ञानिक प्रविधिबाट मापन गर्न भने सकिदैन । सामान्यतया मष्तिस्क संचालनको रसायन न्युरोट्रान्समिटरले सही ढङ्गले काम नगरेमा, तथा मस्तिस्कमा धेरै चिन्ता थपियो भने कोर्टिसोल नामक रसायनको मात्रा वृद्धि हुनु थाल्छ र यसबाट आउने असन्तुलनले तनाव पैदा गर्दछ ।

हिजो आज अधिकांश मानिसमा रहेको तनावले तन र मन दुबैमा असर पारेको छ भने शारीरिक तथा मानिसक रुपमा गम्भीर क्षति पुरयाइरहेको छ ।

तनावले हरेक मनिसको जीवन शैलीलाई प्रभावित पारेकै हुन्छ । यसले मानिसको जीवनमा सकरात्मक वा नकरात्मक भूमिकामा हस्तक्षेप गरी उनिहरुको दैनिक गतिविधिमा बाधक बनएको हुन्छ ।

आज हाम्रो नेपाली समाजमा तनावलाई कम गर्न भनि सेवन गरिने मादक पदार्थले ज्यादै गम्भिर चुनौती निम्याएको छ । जस्तै कोकिन, हिरोइन, अफिम, गांजा, विस्कि, रम , बिएर, ब्राउन सुगर, चुरोट, खैनि, आदिको सेवनले धेरै मानिसको जीवनमा नकारात्मक प्रभाव पारेको पाइएको छ ।

कसरी गर्छ असर ?

यी पदार्थले केही समयको लागि तनाव कम गरी आनन्दको अनुभुती दिएपनि दीर्घकालिन रुपमा यसले मानिस लाई ठुलो नोक्सान पुर्याउछ ।
न्युरोबायोलोजी एवं साइकोलजिकल अनुसन्धान कर्ताहरुको अनुसार मादक पदार्थले मस्तिस्कमा डोपामिन र सेरोटोनिन उत्पादन गरी मनिसलाई खुशी र आनन्द दिन्छ, त्यसैगरी क्षणिक तनाव भएको बेला पनि मस्तिस्कमा ग्लुकोकोर्टिसोल हर्मोनको मात्रा बढ्दै जान्छ ।

जसले गर्दा मस्तिस्कमा न्युक्लियस अकुम्बेन्सले डोपामिनको उत्पादन गरी खुशी र आनन्द दिन्छ । साथै मनिसलाई एकाग्र गराएर काममा सफलता दिलाउँछ ।  आत्मसम्मनिित गराउछ, तोकिएका कामहरु समयमा नै सम्पन्न गर्न मद्दत गराउँछ, साथै भविष्यमा आउने सानातिना समस्याहरुको प्रतिरोध गर्दै जीवनमा सफलता दिन्छ ।

तर निरन्तरको तनाव भएको बेला यो प्रक्रिया विपरित भई डोपामिनको उत्पादनमा कमी आउँछ जसले गर्दा मानिसमा निरन्तरको तनावले विकराल स्थति निम्त्याउँछ र उनीहरु आफ्नो काममा निस्कृय हुँदै अन्त्यमा जीवन नै क्षीण हुन्छ ।

तनाव र लागू औषध दुर्ब्यसनका लक्षणहरु

  •  एकाग्रपनमा कमी हुने, कमजोर स्मरण शक्ति, भोजनमा रुची कम हुने, लगातार डर र आत्तिने खालको अज्ञात स्वभाव हुने गर्दछ ।
  •  प्रेरणा , समर्पण र आत्मविश्वासको अभाव हुनाले पारिवरिक एवम वैवाहिक सम्बन्धलाई प्रभावित गराउँछ ।
  •  अनुत्तरदायी व्यवहार, खानपान र निन्द्रामा कमी वा अनियमितता हुने गर्दछ ।
  •  चिडचिडपन्, अनैतिक आचरण जसले गर्दा चोरी वा डकैती कार्यमा संलघ्न हुने ।
  •  कतिपयमा शक्ति वा यौन क्रियाकलापमा समेत कमी भएको महसुस हुँदै आत्महत्याको विचार समेत आँउछ ।
  • अध्ययन, खेल, घर परिवार एवं ब्यावसायमा कम रुची हुने र घर, स्कुल, उद्योगमा अनुपस्थित हुनु।
  • मानिसको मनमा अत्यधिक तनावको कारणले स्वास्थ्य समस्या जस्तै मधुमेह, उच्चरक्तचाप, स्वासप्रस्वासमा समस्या, मुटुको धड्कन र शरीरको प्रतिरक्षा प्रणालीमा असर ल्याँउछ ।

तनाव र लागुऔषध दुर्ब्यसनिका कारणहरु:

तनाव र लागुऔषध दुर्ब्यसनिका स्पष्ट कारण अहिले पनि पहिचान हुन सकेको छैन । अनुसन्धानकर्ताकाअनुसार मनोबैज्ञानिक, सामाजिक, औषधि उपलब्धी एवम शारीरिक कारण नै प्रमुख हुने बताउँदै आउने गरेका छन । जस्तै :

  • कम आत्मसम्मान, आर्थिक भार र निराशावादी भएमा
  • कठिन सम्वन्ध वा यौन शोषण भएमा
  • खराब बाल्यकाल, सामाजिक बहिस्कार बढ्दै गएमा
  • साथी संगत, रोमान्स एवम प्रशंसा प्राप्ती भएमा
  • खराब बाल्यकाल, सामाजिक बहिस्कार बढ्दै गएमा
  • आकस्मिक वा अस्वभाविक घटनाक्रम जस्तै नजिकको मान्छेको अकालमै मृत्यु , हानी नोक्सानी भएमा
  • कार्यव्यस्तता वा धेरै मात्रामा रक्सी चुरोट,मादक पदार्थ सेवन गरेमा
  • शहरीकरण र औधोगीकरण बढ्दै गएमा
  • अस्वस्थ्य शैक्षिक उपल्ब्धी एवम युवा कुंठाए भएमा
  • मादक पदार्थ एवं ड्रग माफियाको विश्वव्यपी जाल हुँनाले

स्ट्रेस र लागुऔषध दुर्ब्यसनिका उपचारहरु
स्ट्रेस र लागुऔषध दुर्ब्यसनिबाट टाढा रहनको लागि मनो वैज्ञानिक, सामाजिक, र शारीरिक रुपमा तन्दुरुस्त हुन अत्यन्त आवश्यक छ । जस्तै :

  •  मानसिक र अध्यात्म सम्वन्धी पुस्तक वा उपन्यास पढ़नाले मनमा सकारात्मक विचार ल्याउँछ र मानसिक तनाव, लागु औषध दुर्ब्यसनिबाट टाढा रहन सकिन्छ ।
  • सुमधुर संगीत सुन्नाले खुशी र आनन्द दिन्छ । तर उदासवाला सेन्टिमेन्टल गीत नसुनेको राम्रो । सुमधुर सकारात्मक गीतले तनावबाट मुक्ती दिलाउन मद्धत मिल्छ ।
  • हरियो साग पात र फलफुलले मष्तिस्कमा सोरोटोनिन र डोपामिनको उत्पादन बढाउँछ । जसले गर्दा तनाव कम हुन्छ अनि शरीरमा फुर्ति हुन्छ ।
  • प्रायस् समय आफ्नो साथीभाई, इस्टमित्र, अनि घर परिवारसँग भावनाहरु आदान प्रदान गरेमा तनाव र लागुऔषध दुर्ब्यसनिकाबाट टाढा हुन सकिन्छ ।
  • मादक पदार्थ एवम ड्रग माफियाको विश्वव्यापी जाललाई तोड्न सकेमा

आज औषधि विज्ञानका क्षेत्रमा भएको नविन खोज र अनुसन्धानले केही वैकल्पिक औषधि र भ्याक्सिन ल्याएको त छ जसले ति लागुऔषधलाई सहजै मष्तिस्कमा पुग्नबाट जोगाउँछन् यद्यपि यसलाई प्रयोगमा ल्याउन हाम्रो परम्परागत मान्यता, आस्था, सामाजिक प्रतिष्ठा, चेतना र आर्थिक अवस्थाले गर्दा सहज देखिदैन ।

यो जटिल समस्या समाधानका लागि सरकारले हाम्रो शिक्षा, स्वास्थ्य, परम्परागत मान्यता र आस्थामा परिवर्तन ल्याउनु जरुरी छ। त्यसैगरी सरकारले मानसिक रोग र लागुऔषध दुर्ब्यसनि सम्वन्धी जनचेतना फैलाउने र सम्भव भएसम्म सामुहिक उपचार निस्शुल्क प्रदान गरेमा यो समस्या न्यूनिकरण हुने देखिन्छ ।

# लामिछानेले वोंनकोङ्ग युनिभर्सिटी दक्षिण कोरियाबाट न्युरो साइकोलजि एन्ड ड्रग एडिक्सन विषयमा पीएचडी गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *