भोजपुर : स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि

– युवराज विष्ट

भोजपुर, २० पुुुस । स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालीम दिइएको छ भने ३५ प्रसूति कक्षमा सहयोग पु¥याउँदै आएको छ ।

जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालीम सहयोग गरिने वान हर्ट वल्ड वाइड भोजपुरका जिल्ला संयोजक रबीन जोशीले बताए। घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भइरहेको आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताए ।

मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने यस संस्थाले बर्थिङ सेन्टरमा आवश्यकताअनुसार औजार उपकरण सहयोग, आवश्यकताअनुसार मर्मत तथा सुदृढीकरणमा सहयोग, सेवा प्रदायकलाई विभिन्न किसिमको क्षमता अभिवृद्घि तालीम, जनचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ ।

तालीम प्राप्त नर्सहरुले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलालाई पायक पर्ने स्थानमा गई भिडियो एक्सरे सेवा प्रदान गरी जटिलता पत्ता लगाई समयमै नजिकमा रहेको अस्पतालमा सिफारिश गरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिएको वान हर्टले जनाएको छ ।

टेम्केमैयुङ गाउँपालिकाले भने रु ८९ हजार २०० बजेट विनियोजन गरी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यक्रम विस्तार गर्न लागेको स्वास्थ्य संयोजक दानप्रसाद राईले बताउनुभयो । राईले भने, “यसभन्दा अगाडि कार्यक्रम अन्नपूर्ण र तिम्मा स्वास्थ्य संस्थाबाट मात्रै निःशुल्क थियो, अब छिनामख्खु, नागी, खावा, कोट, गोगने र लेर्खकबाट पनि प्रत्येक दुई÷दुई महीनामा एक पटक सेवा प्रदान गर्नका लागि काम गरिरहेका छौँ ।”

गाउँपालिकाका गर्भवतीले आफ्नै घरदैलोमै सो सेवा पाएपछि खुशी व्यक्त गरेका छन् । “भिडियो एक्सरे सेवा लिन जिल्लामा रु ४०० दखि रु ८०० तिर्न बाध्य थियौँ, अहिले हामीले घरदैलोमै निःशुल्क सेवा पाएका छौँ’ नागीमा सेवा लिन आएकी किसन कुमारी राईले बताइनख् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *