सेनासंगको सहकार्यमा सप्तरीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १५ पुस । स्वास्थ्य मन्त्रालयले नेपाली सेनासंगको सहकार्यमा सप्तरीको राजबिराजमा सर्जरी सहितको बृहत निशुल्क स्वास्थ्य शिविर राख्ने तयारी गरेको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत पर्ने सप्तरीमा आगामी फागुनको पहिलो साता शिविर राख्ने तयारी गरिएको हो ।
सेनासंगको सहकार्यमा यस्तै शिविर मन्त्रालयले दुईबर्ष अघि रौतहटको गौरमा सञ्चालन गरेको थियो । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको अग्रसरतामा शिविरको आयोजना गरिएको थियो ।
मन्त्रालयका नीति योजना महशाखा प्रमुख डा विकास देवकोटाले आगामी फागुनको पहिलो साता राजबिराजमा सप्ताह व्यापी रुपमा बृहत शिविर राख्ने योजना भइरहेको पुष्टी गरे । तर उनले स्थान र बजेटको भने टुंगो लागि नसकेको बताए ।
‘सेनासंगको सहकार्यमा गौरमा जस्तै राजबिराजमा शिविर राख्ने योजनामा छौँ । तर स्थान र बजेटको बारेमा टुंगो लागिसकेको छैन । स्थान छनौट गर्न मन्त्रालयको टोली केही दिनमै राजविराज जाँदैछ,’ उनले भने ।
दुई बर्ष अघिको शिविरमा मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी,सप्तरी, सिरहा, मकवानपुर र सिन्धुली सहित १० जिल्लाका जनतालाई लक्षित गरि गौरमा शिविर सञ्चालन गरिएको थियो ।
सो शिबिरमा नेपाली सेनाले मोवाईल कन्टेनर जोडेर फिल्ड अस्पताल सञ्चालन गरेको थियो । स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि तथा चिकित्सक सहयोग गरेको थियो ।
सो शिविरमा हाईड्रोशीलका पुरुष तथा आङखसेका महिलाहरुको निशुल्क सर्जरी समेत भएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 