आयुर्वेद औषधालयमा चिकित्सक र औषधिको अभाव

68
Shares

काठमाडौँ, ५ मङ्सिर । वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् ।

छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार नपाई फर्कनुभएका योगकृष्ण वैद्यले बताए ।

आयुर्वेद औषधालयमा २२ प्रकारका औषधि निःशुल्क पाउने सरकारको नीतिगत निर्णय रहेपनि यो औषधालयमा त्रिफला चूर्णसमेत छैन । औषधालयका प्रमुख चिकित्सक डा रुपेन्द्र पुरी बजेट अभावमा धेरै प्रकारका चूर्ण सकिएको बताउछन् । “गत वर्षदेखि स्थानीय सरकारमार्फत् औषधालय सञ्चालन हुन थालेपछि दुईतिर काम गर्नुपर्ने भएकाले औषधालयमा चिकित्सक नभेटिएको हो, गतवर्ष काठमाडौँ महानगरपालिकाले औषधालय चलाएको थियो, यसवर्ष प्रदेश सरकारले सञ्चालन गर्ने भनिए पनि महानगरमार्फत् नै बजेट विनियोजन भएको छ”–उनले भने ।

एकजना कर्मचारी लामो बिदामा बसेको र एक जनाको दरबन्दी खाली रहेको आँैषधालयले जनाएको छ । औषधालयलाई वाग्मती अञ्चलमा सञ्चालन हुने आयुर्वेद क्लिनिक दर्ता लगायत नियमन गर्ने अधिकार समेत दिइएको छ । चावहिलको ब्रह्मविज्ञान क्लिनिक तथा आयुर्वेद उपचार केन्द्रका वैद्य अर्पण बस्नेत पटक÷पटक धाउदा पनि कार्यालय प्रमुख नभेट्दा काम नभएको बताउछन्।

औषधालयमा आयुर्वेद विभागबाट केही औषधि आउने गरेको छ । बाँकी औषधि खरीद गर्न गतवर्ष महानगरपालिकाले रु तीन लाख बजेट छुट्याएको थियो । यसवर्ष रु तीन लाख विनियोजन भएको छ । विनियोजित बजेटबाट महानगरपालिकाले नै औषधि खरीद गरी औषधालयलाई दिने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *