बाह्र बर्षमै गर्भवती भएकी गंगामायालाई काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ मंसिर । १२ बर्षकै उमेरमा आमा बन्न लागेकी मकुवानपुर राक्सिराङ गाउँपालिका–३ सरिखेतकी गंगामाया चेपाङलाई थप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि गंगामायालाई काठमाडौँ ल्याइएको हो ।  उनको थापाथलीस्थित प्रसूतिगृह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

कक्षा ४ मा अध्ययन गर्दा गर्दै गत वर्ष भागेर विवाह गरेकी १२ बर्षकी गंगामाया ३३ हप्ताको गर्भवती छिन् । चिकित्सकहरुले शारीरिक विकास पूर्ण नहुँदै गर्भवती भएकोले जोखिम बढी भएको बताउँदै आएका छन् ।

यसअघि खबर सार्वजनिक भएपछि स्थानीय वडा अध्यक्षको पहलमा गंगामायालाई हेटौडाँ अस्पताल लगिएको थियो । उपचारका लागि हेटौडा भन्दा काठमाडौँ सुविधा हुने भन्दै प्रधानमन्त्री ओलीले उनलाई काठमाडौँ ल्याउन निर्देशन दिएका थिए ।

‘हिजो हामीकहाँ ल्याइएको छ । सामान्य परीक्षण भएको छ । तेत्तिस हप्ता भनिएपनि हाम्रो प्रारम्भिक परीक्षणले ३० हप्ताको गर्भवती हुन् जस्तो देखिएको छ,’ प्रसूतिगृहका निर्देशक प्राडा जागेश्वर गौतमले भने ।

उनले आज थप परीक्षण पछि उनलाई अस्पतालमा राख्ने कि नराख्ने भन्ने निधो हुने बताए ।  ‘अहिले हेर्दा त उनको अवस्था सामान्य नै छ । अति सानो उमेरमा गर्भवती भएकोले निगरानीको खाँचो छ । आजको परीक्षण पछि चिकित्सकहरुसंग सल्लाह गरेर आवश्यक निर्णय लिन्छौँ,’ डा. गौतमले भने ।

यसअघि प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्कइदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *