रगतको मूल्य बढाउने रेडक्रसको निर्णयमाथि सरकारको हस्तक्षेप, बढाइएको मूल्य तिर्नु नपर्ने

काठमाडौँ, १८ कात्तिक । प्रति युनिट रगतमा एक सय रुपैयाँ बढाउने निर्णय तत्काल रोक्न सरकारले नेपाल रेडक्रस सोसाइटीलाई निर्देशन दिएको छ ।

रक्तदान सम्वन्धी कार्यक्रमको नियमन गर्ने निकाय राष्ट्रिय रक्तसञ्चार व्यूरोले आज रेडक्रस अन्तर्गतको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकलाई पत्र लेखि सो निर्देशन दिएको हो । उनले व्यूरोको निर्णय अनुसार रगतको मूल्य बढाएको भन्ने सूचनाका विषयमा समेत ब्लड बैंकसंग स्पष्टीकरण माग गरेको छ ।

व्युरोको निर्णय अनुसार भन्दै केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकले गत १५ कात्तिकमा एक सूचना जारी गरी प्रति युनिट रगतमा १०० रुपैयाँ थप गरिएको बताएको थियो ।

रक्तदाताहरुलाई रिफ्रेसमेन्टका र अन्य खर्च व्यवस्थापनका लागि भनेर थपिएको सो रकमका विषयमा आफूलाई थाह नभएको भन्दै व्युरोले शनिबार नै आपत्ति जनाएको थियो । दानबाट संकलित रगतमा विभिन्न बहानामा मूल्य बढाउन खोजेको भन्दै हिजो नै नेपाली हेल्थले दान गरेको रगतमा समेत मूल्यबृद्धि, प्रति युनिट बढ्यो एक सय रुपैयाँ  शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

व्युरो प्रमुख डा. हरिषचन्द्र उप्रेतीले ब्लड बैंकको नेतृत्वले बदमासी गरेको भन्दै रोक्नका लागि निर्देशन दिएको बताए । उनले निर्देशनात्मक पत्रको बोधार्थ सबै सरोकारवाला निकायलाई पठाइसकिएको जानकारी दिए ।

यसैबीच व्युरोको पछिल्लो निर्देशनलाई नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वागत गरेको छ । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले व्लड बैंकको मनोमानीलाई रोक्ने सरकारी प्रयासको सराहना गरे । उनले विरामीका लागि निशुल्क रगत उपलव्ध गराउन आफ्नो नेतृत्वको संस्था तयार रहेको भन्दै त्यसमा साथ दिन आग्रह समेत गरे ।

मूल्य बृद्धि नहुँदा बिरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ५२५ रुपैयाँ र निजी अस्पतालका लागि भए ६७५ रुपैयाँ तिरे पुग्दथ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *