इपिलेप्सी सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलन राजधानीमा शुरु

काठमाडौँ, २० असोज । इपिलेप्सी सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । इपिलेप्सी एजुकेशन कोर्ष इन नेपाल २०१८ नाम दिइएको उक्त सम्मेलन कान्तिपुर जनरल हस्पिटल र ताइवान इपिलेप्सी सोसाइटीको आयोजनामा भएको हो । सम्मेलनलाई नेपाल इपिलेप्सी सोसाइटीको संयोजन गरेको छ ।

सम्मेलनमा न्युरोसर्जन, साइक्याट्रिक्स, न्युरोलोजिष्ट, पेडियाट्रिसियन, दन्त चिकित्सक गरी १ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

सम्मेलनमा भाग लिन ताइवान इपिलेप्सी सोसाइटीका अध्यक्ष डा. चिङ सियाङ चि को नेतृत्वमा सात सदस्यीय टोली हिजो नै काठमाडौँ आईपुगेको थियो । यस्तै काठमाडौँ, पोखरा, धरान, बुटवल, विराटनर, चितवन लगायतका स्थानबाट चिकित्सकहरु सहभागी छन् ।

सम्मेलनको उदघाटन त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश प्रसाद अग्रवालले गरेका छन् । सो अवसरमा बोल्दै प्राडा अग्रवालले इपीलेप्सी सहि निदान र उपचारमा कतिपय ठाँउमा समस्या रहेको बताए ।

उनले भने, ‘यसका अन्धविश्वास छ, त्यसैले कतिपयले यसको सहि ठाँउमा उपचार गर्न जानै समेत हिच्किचाउँछन्, कतिपय ठाँउमा विज्ञ चिकित्सक नहुँदा यो रोगको पहिचानमा समेत गाह्रो देखिएको छ । तर यस्ता खालका कोर्षले निदान र उपचारमा सहयोग पुरयाउछ ।’

कार्यक्रममा अर्का बक्ता नेपाल इपिलेप्सी सोसाइटीका अध्यक्ष प्राडा सरोजप्रसाद ओझाले नेपालमा करीब १ प्रतिशत जनता इपिलेप्सीको समस्यामा परेको बताए । उनले इपिलेप्सीको केशमा करीव ७० प्रतिशत निको हुने भन्दै विना हिचकिचाहट उपचारमा आउन प्रभावितहरुलाई आग्रह गरे । उनले जनचेतनाको अभावमा धेरै व्यक्ति उपचारको पहुँच बाहिर रहेको भन्दै उपचारसंगै जनचेतना बढाउनुपर्ने बताए ।

आयोजक संस्था कान्तिपुर जनरल हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले रोग निदान तथा उपचारमा थप मद्धत पुगोस भनेर नै कार्यक्रमको आयोजना गरिएको बताए । उनले सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न विधाका चिकित्सकबीच रोग निदान तथा उपचारका बारेमा अनुभव आदानप्रदान हुने बताए ।

कार्यक्रममा ताइवान इपिलेप्सी सोसाइटीका अध्यक्ष डा. चिङ सियाङ चिले इपिलेस्पी सम्वन्धी रोगका निदान तथा उपचारमा आफूहरुले गरेको प्रगति सुनाउने तथा सिकाउने र नेपालले गरेको उपलव्धी बारे जानकारी हासिल गर्ने उद्धेश्य रहेको जानकारी दिए । उनले यस्ता किसिमका सहकार्यले स्वास्थ्य क्षेत्र थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुलाई कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल डा रविनमान श्रेष्ठले स्वागत गरेका थिए ।
सम्मेलन बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलको सभाहलमा भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *