आवासीय चिकित्सक, अधिक ड्यूटि र बिरामीको सेवा

डा. मधुसुदन पाण्डेय
  • डा. मधुसुदन पाण्डेय

मावन एक सामाजिक प्राणी हो । कुनै पनि मानवलाई सम्मान पूर्वक जीवन जिउने अधिकार हुन्छ । त्यो उसको मानव अधिकार पनि हो । रोबर्ट ओएनको अभियान अनुसार मानिसले २४ घण्टामा ८ घण्टा काम ८ घण्टा मनोरंजन ८ घण्टा सुताई हुनु पर्छ तर यति भनिरहदा नेपाली आवासीय चिकित्सकहरूको व्यथा भने बेग्लै छ । उनिहरुसंग न खाने फुर्सद छ , न लाउने र गर्फ गर्ने फुर्सद, मनोरञ्जन र आराम गर्ने त धेरै परको कुरा ।

यस्ता चिकित्सकहरु कुनै पनि शिक्षण अस्पताल जाँदा भेट्नु हुने छ र सजिलै यी चिकित्सकहरु चिन्न सक्नुहुनेछ । काममा एकदम ब्यस्त हुने ,रातदिन नसुतेर हेर्दै थाकेका, अनिदो देखिने, लगभग सधै कामकै हतारमै देखिने,ओपिडीको एक कुर्सीबाट सबै बिरामीलाई सेवा दिदै गरेको देख्नु भयो भने तपाँईको को अनुमान सहि हुने छ ।तिनै हुन् क्लिनिकल विषयका रेसिडेन्ट चिकित्सक।

बिरामीको स्वास्थ्यको ख्याल गर्दा गर्दै आफ्नो स्वास्थ्य बिर्सिसकेका हुन्छन् उनीहरु।

आवासीय चिकित्सकहरुलाई आफ्नो जीवनको उतारचडाब भन्दा पनि आफ्ना बिरामीको स्वास्थ्य स्थिति तलमाथि हुन्छ कि भन्ने चिन्ता हुन्छ। तर चिकित्सक हुने नाममा मानवीय दैनिकीकै हरण भएको देख्दा कतै न कतै व्यवस्थापनमा अलि समस्या छ भन्ने आभास हुन्छ। किनभने  कम्तिमा खान, लाउन र आफन्तसंग दुई क्षण बोल्न समय त जो सुकैलाई पनि दिइनु पर्छ । यो उनीहरुको मानव अधिकार पनि हो तर त्यस्तो छैन् । कुनै शब्दले भन्नु पर्दा यहाँ रेसिडेन्टहरुको जीवन दासत्व जीवनसंग तुलना गर्न मिल्ने खालको छ ।

बिडम्बना, तै पनि यसमा न कोही बोली दिन्छ न कोहि लेखि दिन्छ । स्वयं उनीहरुलाई पनि फुर्सद छैन आफ्ना कथा व्यथा पोख्नलाई । फेरी त्यसमाथी कथा व्यथा पोख्दा प्रोफेसर र सिनियरहरुको अनेक थरिको त्रास पनि त हुन्छ उनीहरुमा ।

कति समय खटिने ?

अधिकांस देशहरुमा , आवासीय चिकित्सकहरूले सामान्यतया हप्तामा ८० देखि १०० घण्टासम्म काम गर्छन् । कतिपय देशहरुमा आवासीय चिकित्सकहरुलाई हप्तामा १३६ घण्टासम्म अधिक कार्यभार दिइएको पनि पाइन्छ । हाम्रो देश नेपालमा पनि झन्डै यस्तै स्थिति रहेको छ ।

रेसिडेन्टका लागि अमेरिकामा अधिकतम हप्ताको ८० घण्टा ,युरोपमा ४८ घण्टा, न्युजिल्यान्ड ७२ घण्टा त्यसैगरि अस्ट्रेलिया मा ७० घण्टा समय विनियोजन गरिएको छ । तर नेपालमा भने यस सम्वन्धमा कुनै निश्चित व्यवस्था गरिएको छैन् । यस सम्वन्धमा न नेपाल मेडिकल काउन्सिल बोलेको छ न त विश्वविद्यालयकै ध्यान गएको छ ।

अधिकांस शिक्षण सस्थाहरुमा औसत हप्तामा ८० -१०० घण्टा भन्दा बढी नै खटाइएको देखिन्छ । त्यसबीचमा कहिलेकाँही २४ घण्टा भन्दा बढी निरन्तर ड्यूटि समेत गर्नु पर्ने हुन्छ । किनभने आवासीय चिकित्सकहरुले विरामीको सेवा मात्रै होईन् । आफ्ना कागजी अध्ययन अनुसन्धानका काम समेत त्यहिबीचमा गर्नुपर्ने हुन्छ ।

हुन त चिकित्सा स्नाकोत्तर ट्रेनिङमा आवासीय चिकित्सकहरूलाई बढी भन्दा बढी काम गर्नै पर्ने हुन्छ सिक्नको लागि । भनिन्छ यो यस्तो ट्रेनिङ हो “जहाँ सिक्नको लागि सेवा दिइन्छ र सेवा दिन को लागि सिकिन्छ” ।

तसर्थ एक आवासीय चिकित्सकलाई कसरी सिकाउने र कसरी परिचालन गर्ने भन्ने अहम कुरा हुन्छ । ऊ एउटा सिकारु विद्यार्थी मात्र नभई सम्बन्धित विधाको चिकित्सकका रूपमा पनि जिम्मेवारी निभाइ रहेको हुन्छ । यस्ता चिकित्सकलाई स्वतन्त्र रुपले एक्लै छोडेर अनुभवबाट सिकाउने कि ? सिनियरको रोबहरमा कामहरु सिकाउने ? भन्ने सवालमा दुवै उत्तिकै आबश्यक हुन्छन ।

दक्ष र आत्मनिर्भर चिकित्सक बनाउनलाई । आवासीय चिकित्सकहरूलाई कामको ओभरलोड हुनुमा केहि हदसम्म हाम्रो चिकित्सा परम्परा पनि दोषी छ । अहिले पनि सिनियरले जुनियरलाई पेलाउनी प्रचलन छ तर होलान यसका केहि राम्रा पक्ष पनि ।

यधपी लामो डिउटी गर्दा एउटै बिरामीको रोग को पूर्ण उपचार बिधि र उसको संहार सम्बन्धि सबै ज्ञान हुने हुँदा, सिक्न पर्ने कुरा पूर्ण हुन जान्दछन् भन्ने एकथरी मान्यता पनि छ । यधपी नेपाली आवासीय चिकित्सकहरूको अधिक ड्यूटि , दुवै बिरामी र चिकित्सकलाई घातक छ।

अधिक कार्यभारको प्रतिकुल असरहरु

बिरामीहरुमा : कामको चाप र थकानबाट भएको तनाबले ध्यान केन्द्रित नहुँदा चिकित्सकीय त्रुटिहरु को दर बढ्ने हुनसक्छ। एक अध्ययन अनुसार २४ घण्टा निरन्तर जागराम हुँदा ०.१० % अल्कोहोल ब्लड लेबल (मदिरा) को स्थिथि बराबरको हात-आँखाको समन्वय (hand eye cordination) घट्ने हुन्छ ।

अर्को एक ९५९ आवासीय चिकित्सकहरुमा गरिएको ‘मेटा एनालाइसीस्’ बाट २४-३० घण्टा को निरन्तर जागाराम ड्युटी पछि उनीहरुको समग्र कार्यक्षमतामा १ स्टानडर डेभियशन (standard deviation) नजिक र क्लिनिकल कार्यक्षमतामा १.५ स्टानडर डेभियशन (standard deviations) बढी ले कमी आएको तथ्य निकालेको छ ।

अर्को एक इमर्जेन्सी कक्ष मा गरिएको अध्ययन मा रेसिडेन्टले म्यानुअल इन्टूबेशन (INTUBATION) गर्न दिनमा भन्दा रातमा बढी समय लागेको पाइयो । त्यस्तै अरु विभिन्न अध्ययन मा इसीजी (ekg) रिडिंगमा पनि ह्रास आएको पाइयो र तस्तै अनिदो रात पश्चात गरिएको ल्याप्प्रोस्कोपिक शल्यक्रिया (laproscopic surgery) मा पनि त्रुटीहरु बढेको पाइयो ।

अर्को एक अध्ययन अनुसार चिकित्सकको अनिदोपन कम गर्न सकिएमा ( ICU )आइसीयुमा हुने त्रुटि कम रहने तथ्य बन्यो । तसर्थ अनिदो हुँनाले कार्यक्षमतामा ह्रास आउने कुरा यी अध्ययनबाट पुस्टि भई तथ्य हुन पुग्यो ।

आवासीय चिकित्सकहरूमा : 

शारीरिक स्वास्थ्यमा गडबडी (पेट सम्वन्धी समस्या ,मुटुरोग ,गर्भ पतन र गर्भवती समस्या ,स्तन क्यासर आदि ) मानसिक तनाब (Stress/ frustration, कार्यभारको चाप,बिरामी/प्राध्यापक/सिनियर/जुनियर सम्बन्ध सन्तुलन गर्न सकस , कोर्स/अध्ययन/प्रेजेनटेसनलाई समय ब्यबस्थापनमा कठिनाइ ) सामाजिक असरहरु (पारिवारिक /सामाजिक उत्सब ,चाडपर्बहरु मा नगन्य उपस्थिति ,यसै कुराले कतिपय ठाउमा नकारात्मक टिप्पणी, दाम्पत्यजीवन मा समेत असर ) निरन्तरको अपुरो निद्रा बाट उत्पन्न हुने थकान र तनावले कार्यक्षमतामा ह्रास ल्याउनु को साथै कार्यस्थलमा अकल्पनीय दुर्घटना निम्त्याउन पनि सक्दछ ।

समस्या समाधानका लागि यस्ता हुन् सक्छन् विकल्पहरु

 १. कार्य अबधि (working hour) को विनियमन : यसको समाधानका लागि संसार भर सबै भन्दा सामान्य प्रस्तावित विधि कार्य अबधि (working hour) को विनियमन नै हो, तर यदि ती नियमहरू लागिसके पछि पनि बेवास्ता गरिन्छ भने यो प्रभावकारी हुन् सक्दैन फेरी । रेसिडेन्टका लागि अमेरिकामा अधिकतम हप्ताको ८० घण्टा ,युरोप मा ४८ घण्टा ,न्युजिल्यान्ड ७२ घण्टा त्यसै गरि अस्ट्रेलिया मा ७० घण्टा समय विनियमन गरिएको छ । तर नेपालमा भने अधिकांस शिक्षण सस्था हरुमा हप्तामा १०० घण्टा भन्दा बढी नै खटाईएको देखिन्छ । साथै काम गर्ने उचित बाताबरण र उचित तलव (stipend) को माग गर्न स्वतन्त्रता पनि रेसिडेन्ट हरुलाई दिइनु पर्छ ।

अन्य प्रचलित अन्य मुलुकहरुमा उत्कृस्ट मानिए अनुरुप हप्तामा एकदिन पूर्ण रूपमा ड्युटी फ्री हुनु आबश्यक हुन्छ । कुनै पनि ड्युटीको बीच कम्तिमा १० घण्टा ड्युटीलेस समय हुनु पर्छ । बर्षमा ४ हप्ता बिदा पाउने अधिकार सुनिश्चित गरिनुपर्छ । साथै, अधिकांश अध्ययनहरूले देखाउँछ कि कम समयको बावजुद पनि आवासीय चिकित्सकहरूले अधिक बिरामीहरु हेर्ने गर्छन र त्यसले अधिक प्रशासनिक कार्यहरु बढेर जान्छ फलतः बिरमी हरुको हेरचाह र आफ्नो स्व अध्ययनलाई कम समय बाँकी रहन्छ ।

हुन त लामा ड्यूटी घण्टा घटाउने नियमहरूले मात्र मेडिकल त्रुटिहरूको मूल कारणहरूलाई सम्बोधन गर्न नसकेको एक रिपोर्ट ले देखाई सकेको छ जुन अमेरिका मा ACGME को लामो ड्युटी प्रतिबन्धले पनि बिरामीको मृत्यु दर र त्रुटी हरु मा खासै फरक देखाएन । झन् धेरै चोटि ड्युटी हस्तान्तरण (handover) गर्नुपर्दा संचारकोको कमि वा क्रमिक उपचारमा बाधा आदि जस्ता समस्याले गर्दा उपचारमा त्रुटि बृदि हुने स्थिति देखापर्यो । तर बैज्ञानिक हिसाबले, मानबिय स्वतन्त्रता लाई ख्याल गर्दै उचित एक स्टान्डर ड्युटी समय तोकिनु चाँही बिरामी र चिकित्सक विद्यार्थीका लागि फलदायी नै हुन्छ । यसले चिकित्सक र बिरामीको स्वास्थ्य लाई सकारात्मक दिशामा लाग्दै गुणस्तरीय सेवा मा कमि आउन दिदैन ।

यहि अबधारणा लाई मध्ये नजर गर्दै अमेरिका,अस्ट्रेलिया ,क्यानाडा र एयुरोपियन देश हरु लगाएतमा ड्युटी समयको बैज्ञानिक बिनयम गरिएको छ र समग्र मा यसले रेसिडेन्ट चिकित्सक हरुलाई केहि राहत दिनु को साथै बिरामीमा हुने त्रुटी हरु न्यूनीकरण र बिरामीको सुरक्षित हुने विश्वास गरिएको छ ।

२. मानब स्रोतको बृदि : अन्य दक्ष कन्सल्टेन्ट चिकित्सकहरुहरु को संख्यामा बृद्धि ता कि रेसिडेन्टहरुलाई कामको बिभाजन र सिप सिक्ने अधिकतम अवसर हुन्छ ,वा हाउस अफिसरहरुको संख्यामा बृदि ता कि रेसिडेन्ट हरुलाई कागजी काम हरुको लोड कम हुन्छ । यस विकल्पबाट सस्थाको आर्थिक भार बढ्ने देखिन्छ । त्यसकारण यस विकल्प सबै सस्थालाई सहजै स्वीकार्य नहुने स्थिति हुन सक्छ ।

३. दक्षतामा आधारित वा प्रदर्शनमा आधारित (Competency-Based Training) प्रशिक्षण : दक्षतामा आधारित वा प्रदर्शनमा आधारित (Competency-Based Training) प्रशिक्षणको आधारमा रेसिडेन्सी कार्यक्रमको पुनर्गठन गर्ने , ता कि दिइएको समय बिन्दुमा निश्चित सिपहरु सिक्ने र अधिकतम दक्षता हासिल गर्ने न कि पुरानो सिस्टम : समयमा आधारित शिक्षा प्रणाली जहाँ तोकिएको वर्षबाट दक्षता लिने विश्वास गरिन्छ ।

यसलाई सरल रूपमा भन्नु पर्दा एक निश्चित संख्याका सिपहरुमा दक्षता लिइ सके पछी मात्र चिकित्सक प्रशिक्षण पूरा भएको मानिने व्यवस्था। कामको चाप र थकानबाट भएको तनाबले ध्यान केन्द्रित नहुदा चिकित्सकीय त्रुटिहरु को दर बढ्ने हुनसक्छ।

 

# डा. पाण्डेय डक्टर सोसाइटी अफ नेपालका उपाध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *