कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

 

सुर्खेत, ३१ भदौ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ ।

प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको हो । गठित समितिमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मङ्गल रावल र डा तीर्थ थापालाई सदस्यमा चयन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

बैठकले सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरुपण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गर्ने र हिमा गाउँपालिका जुम्लाको केन्द्र विवाद समस्या समाधानार्थ मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेको कानूनमन्त्री भण्डारीले बताए ।

त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रसारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्शसम्बन्धी काम सङ्क्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव पारित भएको उनले जानकारी दिए ।

कानूनमन्त्री भण्डारीका अनुसार सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित सङ्गठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भई नआउँदासम्म संलग्न सङ्गठन संरचना र दरबन्दीअनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

“प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी शीघ्र खटाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,” उनले भने। बैठकले तत्काल कर्मचारी खटाउन नसक्ने अवस्थामा चालू आवको बजेट कार्यान्वयन गर्न आवश्यक प्राविधिक कर्मचारी सेवा करारमा लिनका लागि अनुरोध गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा, १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २० गते आयोजना गर्ने निर्णयसमेत भएको मन्त्री भण्डारीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *