शिक्षण अस्पतालका लागि फेरी अस्थायी निर्देशक तोक्ने तयारी

काठमाडौँ, १६ भदौ । निर्देशकका लागि नाम सिफारिस गर्न गठित सर्च कमिटि भंग भएपछि त्रिभुवन विश्वविद्यालयले महाराजगञ्जस्थित शिक्षण अस्पतालका लागि अस्थायी निर्देशक तोक्ने तयारी गरेको छ । त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले तीन महिनाका लागि अस्थायी निर्देशक तोक्ने तयारी गरेका हुन् ।

गत साता मात्रै त्रिवि कार्यकारीले शिक्षण अस्पतालको निर्देशक पदका लागि योग्य व्यक्तिको नाम छनौट गरि पठाउन भन्दै गठन भएको सर्च कमिटि भंग गरेको थियो ।

त्रिवि कार्यकारीले गत ८ जेठमा चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि बनाएको थियो । उक्त समितिले तीन महिना पछि अर्थात गत ६ भदौमा त्रिवि कार्यकारीलाई पत्र लेख्दै नाम सिफारिस गर्न नसकिने बताएको थियो । नाम सिफारिस गर्न नसक्ने भन्दै पत्र पठाएपछि कार्यकारीको गत साता बसेको बैठकले सो समिति भंग गरेको थियो ।

‘त्रिवि नियममा उपकुलपतिले तीन महिनाका तोक आदेशमै निर्देशक बनाउन सक्ने प्रावधान छ । सोही आधारमा सम्भवत अव तीन महिनाका लागि कोही निर्देशक बन्दै छ,’ त्रिवि स्रोतले भन्यो, ‘त्यसका लागि उपकुलपति ज्यूले होमवर्क गर्दै हुनुहुन्छ सायद ।’

उपकुलपति प्राडा खनियाँले पनि तत्कालको समस्या टार्नका लागि अस्थायी निर्देशक तोक्न सकिने बताए । नियममा छ, ‘उपकुलपतिलाई सो अधिकार छ । त्यसको प्रयोग गर्ने कि नगर्ने भन्ने हो । सर्च कमिटिले नाम सिफारिस नगरेपछि यति ठूलो संस्थालाई यत्तिकै छाडिदिन त मिलेन । केही विकल्प खोजि हुँदैछ । त्यसमा निर्देशक तोक्ने कुरामा पनि छलफल भईरहेको छ,’ उनले भने ।

कार्यकारी निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि शिक्षण अस्पताल अहिले नेतृत्व विहीन जस्तै छ ।

काम चलाउको जिम्मेवारी आइओएमकी सहायक डीन प्रा मन्दिरा वन्तले पाएकी छन् । उनी नर्सिङ पृष्ठभुमिकी प्राध्यापक भएको र काम चलाउ व्यक्तिले धेरै काम गर्न समेत नसक्ने भएको भन्दै विकल्प खोज्न थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *