स्टाफ नर्स र अहेवको भरमा दैलेखको दुल्लु अस्पताल
दैलेख १५ भदौ । नियमित रुमपा चिकित्सक नहुँदा दैलेखस्थित दुल्लु अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा कहिले औषधिको अभाव र कहिले खानेपानीको आपूर्ति समेत नहुँदा सेवामा झनै जटिलता थपिएको छ ।
सो अस्पतालमा एक विशेषज्ञ चिकित्सक (दशौँ तह) र दुईवटा मेडिकल अधिकृत (आठौँ तह) सहित २१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । तर विशेषज्ञ चिकित्सक अहिलेसम्म एक जना पनि पुगेका छैनन् । अरु दरबन्दीमा पनि अधिकांश रिक्त छन् ।
दरबन्दी भएर पनि जनशक्ति नपुग्दा अस्पतालको सेवा प्रभावित हुँदै आएको छ ।
उक्त अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुन्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन् ।
अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिश गर्नुपर्ने बाध्यता छ ।
अहिले उक्त अस्पतालमा कार्यरत डा लीला देवकोटा अध्ययन बिदामा काठमाडौँ गएका छन् र निमित्त प्रमुख डा लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा गएको अस्पतालका अहेव खड्गबहादुर शाहीले बताए ।
अस्पतालमा चिकित्सक नहुँदा शव परीक्षणका लागि समेत जिल्ला अस्पतालबाट चिकित्सक बोलाउनु परेको उनको भनाई छ ।
चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मात्रिकाप्रसाद रिजालले चिकित्सकले विभिन्न बहाना बनाउँदै अस्पताल छाड्ने गरेकाले बिरामीको उपचारमा समस्या भएको बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नियमित चिकित्सक बस्ने वातावरण मिलाउन आफूले पहल गरिरहको जानकारी दिए ।
अहेव शाहीले दुई चिकित्सक एक साताभित्र आइपुग्ने जानकारी आएको छ भन्दै चिकित्सकको अभाबमा पनि जेनतेन सेवा दिइरहेको बताए । रासस
सम्पर्क इमेल : [email protected]