यस्ता छन् क्वाँटी खाँदा पाइने छ तत्व

आज रक्षा बन्धन वा भनौँ जनै पूर्णिमा । काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा विभिन्न जाती समुदायबीच क्वाँटी खाने चलन छ । टुसा उम्रेको विभिन्न गेडा गुडीबाट मिश्रित क्वाँटी स्वादमा मिठो त हुन्छ नै पोषणमा समेत यसले सकारात्मक प्रभाव पार्दछ । आखिर के फाइदा हुन्छ त क्वाँटी खाँदा ? आज हामी तपाईँलाई बताउनेछौँ ।

kwanti

नौ प्रकारका गेडागुडीको मिश्रणबाट क्वाँटी बन्छ । यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि बिशेष गरी जनैपूर्णिमाका दिन खाने गरिन्छ । मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ । यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइन्छ ।

१.  क्वाँटीमा टुसा पलाएका गेडागुडी हुनाले तिनमा रेसाको मात्रा पनि बढी हुन्छ । कब्जियतको समस्या हुनेले रेसादार खाना खाएमा धेरै फाइदा पुग्छ । क्वाँटीले पनि कब्जियतको समस्या भएकालाई धेरै फाइदा हुन्छ ।

२.  क्वाँटीले मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । मधुमेह भएका मानिसहरुले दैनिकजसो क्वाँटी खाने गर्नाले फाइदा हुन्छ ।

३.  टुसाएका गेडागुडीमा भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

४.  क्वाँटी खानाले रक्तसञ्चार तथा स्नायु प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् ।  क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । यसले मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने अनुसन्धानहरूले देखाएका छन् ।

५.टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

६.  लामो समय भिजेकाले गेडागुडीलाई हाम्रो शरीरले सहजै पचाउन सक्छ । यसले हाम्रो पाचनशक्तिमा पनि सुधार ल्याउँछ । त्यस्तै, यी गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउन मद्दत पुग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *