पूर्वखोला गाँउपालिकाको नयाँ थालनी : गर्भ जाँच गरेपछि एक क्यारेट अण्डा

पाल्पा, १ भदौ । पूर्वखोला गाँउपालिकाले स्वास्थ्य चौकीमा पुगेर आफ्नो गर्भ परीक्षण गराउने महिलालाई एक क्यारेट (३० वटा) अण्डा उपहार दिन शुरु गरेको छ । गाँउपालिकाले ‘जिरो होम डेलिभरी’ को लक्ष्य पुरा गर्न तथा गर्भवती महिलालाई पोषणयुक्त खानाका लागि सहयोग पुरयाउन अण्डा उपहार दिन शुरु गरेको हो ।

तर, अण्डा पाउनका लागि गर्भवती महिलाले स्वास्थ्य चौकीसम्म पुगेर गर्भजाँच सम्वन्धी प्रोटोकल ( चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनाको गर्भ जाँच) पुरा गरेको हुनुपर्छ ।

वडा नं ५ मा पर्ने बीरकोट स्वास्थ्य चौकीमा विहीबार विशेष कार्यक्रम गरी गाँउपालिकाले अण्डा उपहार दिने कार्यको थालनी गरेको छ ।

गाँउपालिका अध्यक्ष नुन बहादुर थापाले चार पटक गर्भजाँच गराएका संगिता सारु, सुस्मिता रुचाल र विनाकुमारी रानालाई एक एक क्यारेट अण्डा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

बीरकोट स्वास्थ्य चौकीमा शुभारम्भ भएसंगै गाँउपालिकाले बाँकी पाँचवटा वडाका स्वास्थ्य चौकीहरु सिलुवा, रिङनेरह, जल्पा, देवीनगर, र हेक्लाङमा समेत कार्यक्रम शुरु भएको जनाएको छ ।

‘गाँउपालिकाले यो कार्यक्रम शुरु गर्नुको पछाडी मुख्यत दुईवटा लक्ष्य छ । पहिलो जिरोहोम डेलिभरी अर्थात कसैले पनि घरमा प्रसूति नगराओस, प्रसूुतिका लागि स्वास्थ्य चौकी नै लैजाओस भन्ने हो । दोस्रो गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको पोषणमा सहयोग पुर्याउनु पनि हो,’ गाँउपालिकाका सूचना अधिकारी एवं सीअहेव मोहन ढकालले भने ।

उनले अण्डा उपहार पाइने भएपछि गर्भवती महिलाहरु स्वास्थ्यचौकी सम्म पुग्न थप उत्साह मिल्ने र अण्डा पाउनको लागि गर्भजाँच सम्वन्धी प्रोटोकल ( चार पटक गर्भजाँच) पुरा गर्नै पर्ने भएकोले यसले आफूहरुको अभियान सफल हुने विश्वास व्यक्त गरे ।

पूर्वखोला गाँउपालिकाले चालु आर्थिक बर्ष भित्र १५० देखि २०० महिला गर्भवती हुने अनुमान गरेको छ । अण्डा उपहारका लागि सोही अनुसार बजेट विनियोजन गरेको जनाएको छ ।

‘अण्डाका लागि गाँउपालिकाले स्थानीय पसलसंग समन्वय गरेको छ । हाम्रा छ वटै वडाका स्वास्थ्य चौकीले स्थानीय पसलसंग समन्वय गरेको छ । चार पटक गर्भजाँच गराएकी महिलालाई अण्डा उपहारवाला पास दिइन्छ । त्यो पास तोकिएको पसलमा देखाएपछि एक क्यारेट अण्डा लैजान पाइन्छ,’ सूचना अधिकारी ढकालले भने ।

त्यसो त सरकारले चालु आर्थिक बर्षको बजेटमै गर्भवती महिलाले चार पटक गर्भपरीक्षण गरेवापत ८०० रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । यो रकम दिने योजना केन्द्र सरकारको भयो । अण्डा दिने कार्यक्रम हाम्रो गाँउपालिकाको निर्णय हो । चार पटक गर्भपरीक्षण गराउनेले दुबै सुविधा पाउँछन् । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले बताए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धनवहादुर सिंजालीले अण्डा उपहार कार्यक्रमले जिरो होम डेलिभरी गराउने लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ अभियान शुरु गरेको पूर्वखोला गाँउपालिकाले यसअघि ८० बर्ष माथिका बृद्धबृद्धालाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यको थालनी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *