नयाँ मुलुकी ऐनले गरेको व्यवस्थाबारे धारणा बनाउन चिकित्सक संघले बोलायो ‘मास मिटिङ’

काठमाडौँ, २७ साउन ।  नेपाल चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ बारे साझा धारणा बनाउन मास मिटिङ बोलाएको छ । एनएमएले भोलि दिउसो २ बजेका लागि मास मिटिङ बोलाएको हो ।

आगामी  १ भदौ देखि लागू हुने तयारीमा रहेको सो ऐनमा उपचारका क्रममा लापरबाही भएको पाइए, गलत डाइग्नोसिस गरी गलत रिपोर्ट दिएको पाइए चिकित्सकहरुलाई बर्षौसम्म जेल हाल्न सक्ने तथा ठूलो रकम हर्जाना तिर्नुपर्ने लगायतका कडा प्रावधान राखिएको छ ।

चिकित्सकहरु ऐनमा भएका सो व्यवस्थाप्रति असन्तुष्ठ रहेका छन् । उनीहरुले ऐनले चिकित्सकहरुलाई अपराधी जस्तो बनाउन खोजेको र यसले सेवा प्रभाहमा नकारात्मक असर पार्ने बताउँदै आएका छन् । उनीहरुले चिकित्सा पेशाको गाम्भीर्यता नबुझिकन ऐन बनाएको आरोप समेत लगाएका छन् ।

एनएमए महासचिव डा लोचनकार्कीद्धारा जारी विज्ञप्तीमा भोलिको बैठकका लागि कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरु, परिषदका सदस्यहरु, पूर्व अध्यक्ष तथा महासचिव, अस्पतालका निर्देशक तथा पदाधिकारीहरु, शाखाका प्रतिनिधिहरु, विशेषज्ञ समाजका पदाधिकारी, बरिष्ठ सदस्य, आवासीय चिकित्सक सहितका विभिन्न संगठनका प्रतिनिधिलाई बोलाएको छ ।

यो ऐन गत बर्ष ३० असोजमा प्रमाणिकरण भएको हो । तर त्यसयताको १० महिनामा यस कानूनको बारेमा खासै चासो देखिएको थिएन । लागू हुने दिन नजिकिदै जाँदा यसको आलोचना हुने क्रम बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *