दाङ : जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

88
Shares

दाङ, १ साउन । जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका तीनजनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *