दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष


चितवन, १६ असार । भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ ।

अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालले चितवन, बारा, पर्सा, मकवानपुर, नवलपुर, तनहुँ, गोर्खा र धादिङका विद्यालयमा आँखा परीक्षण गर्दा ती बालबालिकामा दृष्टिदोष (आँखा कम देख्ने) समस्या पाइएको हो ।

निःशुल्क शिविरपछि उनीहरुलाई निःशुल्क चस्मा पनि वितरण गरिएको घिमिरेले बताए । यो तथ्याङ्कलाई हेर्दा थाहै नपाई दृष्टिदोष भएर बस्ने बच्चाको प्रतिशत २ दशमलव ९ हुन आउने घिमिरेले जानकारी दिए । अस्पतालले सोझै बालबालिकाको आँखा परीक्षण गर्ने, शिक्षकलाई बाल अन्धोपनासम्बन्धी आँखा स्वास्थ्य शिक्षा तालीम दिएर उनीहरुमार्फत त्यस्ता बालबालिका खोजी गरी उपचार गर्ने काम गर्दै आएको छ ।

अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीका अनुसार अस्पतालमा रहेको बालबहिरङ्ग सेवामा चालू आर्थिक वर्षमा १७ हजार ४०८ जनालाई उपचार गरिएको छ । उनीहरु अधिकांश आँखामा समस्या देखिएपछि अस्पताल आएका हुन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार बालअन्धोपनाको समस्या बढेर गएपछि अस्पतालले एकजना चिकित्सकलाई बालबालिकाको उपचारका लागि थप अध्ययन गर्न क्यानडासमेत पठाएको छ । हाल जटिल शल्यक्रिया गर्नुपरेमा महिनाको एकदिन काठमाडौँबाट वरिष्ठ चिकित्सक झिकाएर शल्यक्रिया गरिँदै आएको उनले बताउनुभयो ।

अस्पतालका डा रञ्जितकुमार शाह त्यस्ता अधिकांश बालबालिका आमाको पेटमा रहँदैमा आँखाको आकार फरक परेर दृष्टिदोष हुने बताउँछन् । उनका अनुसार बच्चा दुई वर्ष पुग्दा आँखा पूर्णरुपमा परिपक्व भइसक्छ । दुई वर्ष पुगेपछि बालबालिकाको आँखा परीक्षण गरेर चस्मा प्रयोग गरेमा दृष्टिदोष हट्दै आउने र समयमा उपचार नभएमा पूर्णरुपमा अन्धो पनि हुन सक्ने उनले बताए ।

भरतपुर आँखा अस्पताल सञ्चालन गरेको नेपाल नेत्रज्योति संघ चितवन शाखाका कार्यवाहक अध्यक्ष कृष्णराज धरेल बालबालिकालाई विद्यालयमा भर्ना गर्नुपूर्व आँखा परीक्षणकोे प्रमाणपत्र विद्यालयले माग्ने नियम बन्न सकेमा त्यस्ता बालबालिकाको समयमा नै उपचार हुने र पूर्णरुपमा अन्धोपना हुनबाट बच्ने बताउँछन् । उनले समयमा नै समस्या थाहा पाउन सकेमा बच्चाको पढाइ नबिग्रने, अटेर बन्नबाट जोगिने पनि जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विकसित राष्ट्रहरुमा १० हजार बालबालिकामा तीनजनामा र गरीब राष्ट्रमा १० हजारमा १२ जनामा बालअन्धोपना हुने गरेको छ । संगठनले विश्वमा एक मिनेटमा एकजना दृष्ट्रिविहीन बालबालिका थपिने जनाएको छ ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *