कंगोमा इबोला देखियो, नेपालमा उच्च सतर्कता

काठमाडौँ, २ जेठ। पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो ।

कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरूको समेत आवतजावत बढेकाले सतर्कता अपनाउन निर्देशन दिएको महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए ।

‘आज मात्रै हामीले अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका इन्चार्जलाई एलर्ट गराएका छौँ,’ सेन्चुरीले भने, ‘कंगोलगायत पश्चिम अफ्रिकी मुलुक हुँदै भित्रिने सबै यात्रुको रेकर्ड राख्न तथा आवश्यक सावधानी अपनाउन भनेका छौँ ।’

हेल्थ डेस्कका इन्चार्ज हरिकुमार उपाध्यायले नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय विमानलाई हेल्थ डेस्कमा सम्पर्क गर्न भनिने बताए । विशेषतः पश्चिमी अफ्रिकी मुलुक, अझ कंगो भ्रमण गरेकालाई अनिवार्य डेस्कमा सम्पर्क गराउन भनिने उनले बताए ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिमका लागि पनि पहल भइरहेको उपाध्यायले जानकारी दिए ।

सन् २०१४ देखि २०१६ सम्म सियरालिओन, लाइबेरिया, गिनिया, मालीलगायत मुलुकमा इबोला संक्रमण देखिएपछि सतर्कतास्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिम दिइएको थियो । तर, हाल ती कर्मचारी नभएकाले फेरि तालिम दिन आवश्यक रहेको उपाध्यायले बताए । हेल्थ डेस्कले रोग फैलिएको देशबाट आउने व्यक्तिको रेकर्ड राख्नुका साथै उनीहरूमा स्वास्थ्य समस्या देखिए सम्पर्क गर्ने स्थानबारे जानकारी गराउँछ ।

शान्ति स्थापनार्थ करिब ९०० नेपाली सेना कंगोमा

शान्ति स्थापनार्थ कंगोमा हाल ९०० नेपाली सेना कार्यरत रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले नयाँ पत्रिकालाई बताए । त्यहाँ खटाइने सैनिकको कार्यकाल एक वर्ष भए पनि सैनिक अधिकृतहरू बीचबीचमा पनि नेपाल आउजाउ गर्ने प्रवक्ता भण्डारी बताउ“छन् । तर, नेपाली सेना इबोला संक्रमित क्षेत्रभन्दा निकै टाढा रहेको उनले बताए ।

‘इबोला संक्रमित क्षेत्रभन्दा नेपाली नेपाली सैनिक रहेको ठाउँ निकै टाढा छ, डराइहाल्नुपर्ने अवस्था छैन,’ प्रवक्ता भण्डारीले भने । यद्यपि पर्यवेक्षकको रूपमा विभिन्न टोलीमा परिचालित हुने सैनिकले भने थप सतर्कता अपनाउनुपर्ने उनले बताए ।

इबोला संक्रमण भएपछि पछिल्ला ११ दिनमा कंगोमा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । मृत्यु हुनेमा तीन स्वास्थ्यकर्मी रहेकोबताइएको छ । दर्जनौँ व्यक्तिमा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

इबोलाले सन् २०१४–१६ मा पश्चिम अफ्रिकाका केही मुलुकमा ११ हजारभन्दा बढीको ज्यान लिएको थियो । सियरालिओन, लाइबेरिया, गिनिया, माली, नाइजेरिया बढी प्रभावित भएका थिए । २८ हजार बढी संक्रमित भएका थिए ।

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेलले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *