केशरपुर अस्पताल सार्न खोजिएको भन्दै मेलौलीका जनता आन्दोलित
बैतडी २० बैशाख । अपायक ठाँउमा अस्पताल सार्न खोजिएको भन्दै मैलौली नगरपालिकाका जनता आन्दोलिन भएका छन् । उनीहरुले अस्पताल सार्ने निर्णय तत्काल फिर्ता लिन स्थानीय नगरपालिकाका जनप्रतिनिधिहरुलाई दवाव दिएका छन् ।
गत २२ चैतमा बसेको मेलौली नगर कार्यपालिकाको बैठकले मैलौली नगरपालिका वडा नं ७ (साविकको मेलौली गाविस २ ) काँडा भन्ने स्थानमा रहेको केशरपुर प्राथमिक अस्पताललाई वडा नं १ को बिठुने भन्ने स्थानमा सार्ने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा स्थानीयबासी आन्दोलित भएका हुन् ।
स्थानीय केशव सिंह भाट भन्छन्, ‘निर्णय बहुसंख्यक जनताको हितमा हुनुपर्छ । सबै हिसावले पायक पर्ने बस्ती बीचमा रहेको अस्पताललाई सारेर अहिले बस्तीभन्दा निकै टाढा एकान्त जंगल छेउमा पुरयाउन खोजिएको छ । हामीले यसको विरोध गरेका हौँ ।’
उनले तत्कालिन मन्त्री द्धारिकादेवी ठकुरानीले विसं २०१६ सालमा स्थापना गरेको केशरपुर हेल्थ सेन्टरलाई पछि प्राथमिक स्वास्थ्य केन्द्र र अहिले प्राथमिक अस्पताल बनाइएको हो भन्दै इतिहास बोकेको ठाँउबाट रातारात हटाइनु स्वीकार्य नहुने बताए ।
यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मेलौली नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रसिंह कार्कीले पनि सबैलाई पायक पर्ने ठाँउमा रहेको ऐतिहासिक अस्पताललाई केही व्यक्तिको स्वास्र्थमा सार्ने निर्णय भएको भन्दै आपत्ती जनाएका छन् । उनले अस्पताल सार्ने निर्णयको विरोधमा गरिएको आन्दोलनमा आफ्नो ऐकेवद्धता जनाएका छन् ।
त्यसो त अस्पताल सार्ने निर्णयको विरोधमा स्थानीय बासीहरु मात्रै होइन बहुसंख्यक उपमेयर राधाकुमारी ओझा, वडा अध्यक्ष, सदस्यहरु समेत उत्रिएका छन् । उनीहरुले तर नगरपालिकाका मेयर कृष्णसिंह नायक र निमित्त प्रमुख प्रकासकीय अधिकृत लोकेन्द्रसिंह नेगीको व्यक्तिगत स्वार्थका कारण अस्पताल सार्ने निर्णय गरेको भन्दै संघर्ष समिति नै गठन गरेका छन् ।
केशरपुर प्राथमिक अस्पताल सार्न लागिएको भन्दै विरोधमा उत्रिएका स्थानीय बासी