सूर्ति नियन्त्रण सम्वन्धी कानून एक साता भित्र कार्यान्वनय हुन्छ : स्वास्थ्य राज्य मन्त्री

काठमाडौँ, १५ बैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले तीन बर्ष देखि कार्यान्वनय हुन नसकेको सूर्ती नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वयन यसैहप्ता भित्र शुरु हुने बताएकी छन् । उनले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक सन्देश राख्न अटेरी गर्ने सूर्ति उद्योगहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल र द युनियनले राजधानीमा आयोजना गरेको जनस्वास्थ्य प्रर्वद्धन : सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री अर्यालले कानूनको सबैले पालना गर्नुपर्ने भन्दै सूर्ति उद्योगीहरुलाई सरकारले तोकेको मापदण्ड लागू गर्न निर्देशन दिइन ।

‘मैले सुनेकी छु, सूर्य टोवाको कम्पनीले कानून कार्यान्वनयमा अटेरी गरिरहेको छ । किन गरिरहेको छ ? भोली देखि नै यसको खोजी हुन्छ र एक हप्ता भित्र पत्ता लगाई कार्यान्वनयको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । सरकारले तीन बर्ष अघि संसोधन गरेको सूर्ती नियन्त्रण सम्वन्धी कानूनको पालना सबैले गर्नुपर्छ’ उनले भनिन् ।

आफुले मन्त्रालय समालेसंगै स्वास्थ्य मन्त्रालयललाई सुर्तिजन्य पदार्थ निशेधीत क्षेत्र घोषणा गरी कार्यान्वयनको चरणमा लगेको बताउदै उनले अब सिंहदरवार भित्र पनि यसलाई कडाइका साथ लागू गर्ने जानकारी दिइन । उनले आगामी बर्षको नीति तथा कार्यक्रममा सूर्तीजन्य पदार्थमा लगाउने करको दर ७० प्रतिशत पुरयाउन मन्त्रालयले प्रस्ताव अघि सारेको बताइन ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमालेका प्रमुख सचेतक खगराज अधिकारीले सरकारले सूर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ ऐन बनाएर पनि पूर्ण कार्यान्वनय गर्न नसक्नु दुखद पक्ष रहेको भन्दै तत्काल कार्यान्वनयमा लैजान जोड दिए । उनले नामै तोकेर कानूनको अटेरी गर्ने सूर्य टोवाको कम्पनीलाई तत्काल कारबाही गर्नुपर्ने बताए ।

सूर्तिजन्य पदार्थको सेवनकै कारण प्रत्येक वर्ष २५ हजार भन्दा बढी मान्छेको ज्यान गएको भन्दै सरकार संवेदनशिल बन्न नसकेको आरोप लगाए । ‘१० वर्षको सशस्त्र द्धन्दमा १७ हजार मान्छे मर्दा अन्तराष्ट्रिय मुद्धा हुने तर बर्षमा २५ हजार मान्छे मार्ने सुर्तिजन्य पदार्थको नियमन गर्न राज्यले खुट्टा कमाउँछ । यो भन्दा बिडम्बना के हो ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

सचेतक अधिकारीले सूर्तिको कर कम्तीमा ७० प्रतिशत पुरयाउनुपर्ने भन्दै त्यसका लागि अर्थ मन्त्रालयमा गएर अनसन नै बस्न परे पनि आफू तयार रहेको धारणा राखे ।

कार्यक्रममा बोल्दै  राष्ट्रियसभाका सांसद समेत रहेका राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेश चन्द्रलालले युवा अवस्वथामा सान देखाउनको लागि सुर्तिसेवन गर्ने र त्यो पछि गएर नसाको रुप लिने हुँदा विद्यार्थी केन्द्रीत कार्यक्रम ल्याउनुपर्ने बताए । साथै करको दायरा बढाउनका लागि आफुले पुर्ण रुपमा पहल गर्ने समेत जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीले समृद्धिका लागि स्वास्थ्य सवैभन्दा ठूलो सर्त रहेको बताए । उनले कानुनलाई कार्यान्वयन गर्नको लागि सबैैपक्ष कटिबद्ध भएर लाग्नुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले अन्य मन्त्रालयसंग समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेपालमा राम्रा नीति नियम बन्ने तर कार्यान्वयन नहुने प्रबृत्ति हावी भएको भन्दै सूर्ति ऐन कार्यान्वयमा देखिएको ढिलासुस्ती त्यसैको उदाहरण हो भनिन् । उनले सरकारले बनाएको कानून बाध्यकारी हो भन्दै त्यसको कार्यान्वनमा जोड दिइन ।

माओवादी केन्द्रकी सांसद अन्जना विसंखेले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि अर्थ मन्त्रालय, गृह मन्त्राय उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालय वीच समन्वय हुनुपर्नेमा जोड दिइन् ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सूर्ति नियन्त्रण सम्वन्धी अभियान महानगरपालिकाले शुरु गरिसकेको भन्दै यसको ठोस नतिजा केही समय पछि देखिने बताए ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै द युनियनका डेपुटी रिजनल डाइरेक्टर डा तारासिंह बमले गरीवी नियन्त्रण गर्न सूर्तिजन्य पदार्थको नियन्त्रण हुन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले नेपाल सरकारले सूर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाएपनि कार्यान्वनयमा फितलो भएको भन्दै यसमा कडाईका साथ लाग्न आग्रह गरे । करको दरमा भारी बृद्धि गर्नु र ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको भन्दै नेतृत्व तहमा बसेका अधिकारीले यसमा ध्यान दिनुपर्ने बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशका कार्यान्वनय गर्न स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय, गृह मन्त्रालय र आन्तरिक राजश्व विभागलाई पटक पटक ताकेता गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । उनले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्न आन्तरिक राजश्व विभागले तीन बर्ष अघि लेखेको पत्र बीचबाटै गायब हुनुलाई सुर्ती उद्योगी र कर्मचारीको मिलोमतो भएको आरोप लगाए ।

कार्यक्रममा डा राजेन्द्र पन्त, डा नीरज बम, डा रत्नमणी गजुरेल, डा प्रकाशराज रेग्मीले सूर्तिजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा पार्ने असरका बारेमा जानकारी दिएका थिए ।

सोही कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ र प्रमुख स्वास्थ्य प्रशासक डा राधिका थपलियाले सूर्ति नियन्त्रणमा मन्त्रालयबाट भएका प्रयास र गतिविधिका बारेमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *