बैतडीमा भेटिए सयभन्दा बढी सम्भावित हात्तीपाइलेका बिरामी

बैतडी, ९ वैशाख । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका बिरामी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले बिरामी भेट्टिएका हुन् ।

जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ति भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए ।

हाइड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिलाई हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । हाइड्रोसिल हात्तीपाइलेका कारण पनि हुने भएकाले हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएको हो भने हातखुट्टा सुन्निने लक्षण हात्तीपाइलेको भएकाले हात्तीपाइले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

खोजी अभियानबाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकाले परीक्षण तथा चेकजाँचपश्चात् मात्रै हात्तीपाइले भए÷नभएको पुष्टि हुने बताइएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाइएको थियो । सरकारले नेपालमा सन् २०२० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य राखेको छ । रासस


Leave a Reply

Your email address will not be published.