हिमाली जिल्ला मुस्ताङमा नि:शुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

मुस्ताङ, ९ बैशाख । हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाँउपालिकास्थित कोवाङ नाउरिकोट गाँउमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर राखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको उक्त शिविरमा आयुर्वेद उपचार पद्धती, योग र स्वस्थ जीवनशैली सम्वन्धि बारेमा जानकारी दिइएको थियो ।

उक्त शिविरमा कोवाङ, लार्जुङ, नाउरिकोट, ताक्लुङ, लेते लगायतका गाँउबाट आएका १४३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डा शंकर गौतमले शिविरमा आउनेहरुले जोर्नी रोग, अम्लपित्त, उच्च रक्तचाप, छालाका रोग, बालरोग , स्त्री रोग सम्वन्धी समस्याका बारेमा आयुर्वेदिक परामर्श तथा उपचार लिएको जानकारी दिए ।

शिविरको उदघाटन गाँउपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष शेरचनले आयुर्वेदिक उपचारको महत्वको बारेमा आफूले सञ्चारमाध्यमबाट सुनिरहेपनि प्रत्यक्ष सेवा लिने मौका नपाएको भन्दै आफ्नै गाँउमा स्वास्थ्य शिविर राखी सेवा उपलव्ध गराउन पाँउदा खुशी लागेको बताए । उनले मानिसको स्वास्थ्य जुनसुकै बेलामा विग्रन सक्ने भन्दै समय समयमा स्वास्थ्य परीक्षण गराइराख्न आम सर्वसर्वसाधारणलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै जन आदर्श माविका प्रअ खेमनारायण कोइरालाले नसर्ने रोगको विगविगी घटाउन आयुर्वेदिक उपचार पद्धती प्रभावकारी हुने भन्दै स्थानीय तहसम्म यो सेवा पुरयाउन सरकारसंग माग गरे । उनले गाँउमा स्वास्थ्य शिविर लैजाने जिल्ला आयुर्वेद टिमलाई धन्यवाद समेत ज्ञापन गरे ।

जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा शंकर गौतमले मुस्ताङ जिल्ला अन्तरगर्त जोमसोम, कागबेनी, लोमान्थाङ लगायतका स्थानमा आयुर्वेद सेवा प्रभाह गरेको जानकारी गराउँदै तल्लो भेगका मुस्ताङबासीलाई उपचार सेवा दिन शिविर आयोजना गरेको बताए ।

उनले थासाङ गाँउ पालिका आयुर्वेद स्वास्थ्य सेवाबाट बन्चित रहेको भन्दै आम्ची सेवालाई समेत समेटेर आयुर्वेद सेवा विस्तारको कार्ययोजना अघि बढाउन गाँउपालिका अध्यक्षलाई सुझाव समेत दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *