मस्तिष्क मृत्यु भएकाको अंग झिकेर प्रत्यारोपण गर्न बाधक के ?

 

काठमाडौँ, २ बैशाख । ‘अंग प्रत्यारोपण नियमित तथा निशेध नियमावली – २०७३’ मन्त्रिपरिषदले पास गरेको भण्डै साढे पाँच महिना पछि गतवर्ष नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिबाट मिर्गौला झिकेर दुई जना मिर्गौला फेल भएको व्यक्तिमा सफल प्रत्यारोपण गरिएको थियो ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र (हालको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र)ले गतवर्ष २८ बैशाखका दिन सडक दुर्घटनामा परि मस्तिष्क मृत्यु (ब्रेन डेथ)मा पुगेका खाङसाङ – ८ सिन्धुलीका ३० बर्षीय गोविन्द भुजेलको दुबै मिर्गौला झिकेर मिर्गौला फेल भएका काठमाडौँ लाजिम्पाटका १५ बर्षीय मिलन श्रेष्ठ र सुनसरीका ५१ बर्षीय गोविन्द तिमल्सिेनामा सफल प्रत्यारोपण गरेको थियो ।

तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचाररत भुजेलको ब्रेन डेथ भएको भन्दै उपचारमा सम्लग्न डाक्टरले जानकारी गराएपछि केन्द्रबाट आएका चिकित्सकको टोलीले अंग झिकेर ती दुईमा प्रत्यारोपण गरेको हो । त्यसयताको एक बर्षमा अरु ९ वटा अस्पतालले मस्तिष्क मृत्यु भएको भन्दै अंग झिक्न खबर त गरे तर सफल हुन सकेन ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ भन्छन्, ‘हामी यसका लागि निरन्तर कोशिष गरयौँ र गरिरहेका छौँ तर अपेक्षित रिजल्ट अझै आएको छैन् ।’

ट्राफिक प्रहरीकै तथ्यांकले पनि उपत्यकामा मात्रै बार्षिक सरदर एक हजार जनाले सड्क दुर्घटनामा ज्यान गुमाउने गरेको देखाउँछ । मस्तिष्क मृत्युमा पुग्ने अधिकांश यस्तै सड्क दुर्घटनाका घाइतेहरु हुन् ।

प्रत्यारोपणका लागि दीर्घ तथा संक्रामक रोग नलागेको अंग चाहिने भएकोले यस्ता दुर्घटनाबाट मस्तिष्क मृत्युमा पुग्नेहरुको अंग बढी प्रभावकारी देखिन्छ । तर जनचेतनाको अभाव, पुरानो परम्परा आदिका कारणले ब्रेन डेथमा पुगेकाहरुको परिवारले सहज रुपमा अंग दिन मानेका छैनन् ।

ट्राफिककै संख्यालाई आधार मान्ने हो र ति सबैका परिवारले अंग दान गर्ने हो भने, बर्षमा २ हजार मिर्गौला सहित मुटु, कलेजो, फोक्सो, सानो आन्द्रा, पेन्क्रियाज, छाला लगायतका अंगहरु आवश्यक परेका विरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।

अंग झिक्न १६ पटक फोन आयो १३ घरपरिवारले दिन चाहेनन्
सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंंग प्रत्यारोपण सम्वन्धी व्यवस्थापन गर्न समन्वय इकाई राखेको छ । कुनै पनि अस्पतालमा वा स्वास्थ्य संस्थामा कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा हुने भएमा सो इकाईलाई जानकारी दिनुपर्ने हुन्छ ।

सोही जानकारीका आधारमा सो इकाईले अंग झिक्नका लागि जनशक्ति खटाउने र अंग कसका लागि प्रयोग गर्ने भन्ने समेत निक्र्योल गर्छ ।
तर झण्डै एक बर्षको अवधीमा सो इकाइमा अंग झिक्न भनेर जम्मा जम्मी १६ वटा फोन आएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठ भन्छन्, ‘फोन आएपनि १६ मध्ये १३ वटा केशमा परिवारको आफन्तले दिन चाहेनन् । बाँकी ३ जनाको अंग प्रत्यारोपणका लागि योग्य देखिएन ।’

डा श्रेष्ठले केन्द्रमा रहेको समन्वय इकाइ अन्तरगर्तका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु चौविसै घण्टा अलर्ट अवस्थामा रहने र फोन आउनासाथ सम्वन्धीत ठाँउमा पुग्ने गरेको बताए । ‘तर कतिपय केशमा परिवारले मान्नुभएन । कतिपयमा अंग झिक्न नमिल्ने अवस्था देखियो,’ डा. श्रेष्ठले भने ।

कुन कुन अस्पतालले कतिपटक फोन गरे ?
समन्वय इकाइमा हालसम्म काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल र नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीबाट सबैभन्दा धेरै पटक अर्थात ३ – ३ पटक पटक ब्रेन डेथ भएको अंग लिन आउनुस भनेर फोन आएको छ ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरबाट ब्रेन डेथको घोषणा हुन लागको भन्दै अंग लिन कन्भिन्स गर्न आउनु भन्दै बोलाइएको छ । त्यस्तै न्युरो अस्पताल बाँसबारीबाट २ पटक, अन्नपूर्ण न्युरो माइतीघरबाट २ पटक फोन आएको छ ।

निदान अस्पताल पुल्चोकबाट १ पटक, ब्लुक्रस हस्पिटलबाट १ पटक, मेडिसिटीबाट १ पटक र मध्यपुर ठिमी हस्पिटलबाट १ पटक फोन आएको छ ।

यसअघि गतवर्ष तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट यसैगरी फोन आउँदा समन्वय इकाइबाट खटिएका कर्मचारीले कन्भिन्स गरेपछि गोविन्द भुजेलको परिवारले अंग दान गरेको थियो । उनकै अंग अहिले श्रेष्ठ र तिमल्सेनामा प्रत्यरोपण गरिएको हो ।

फेक कलको समस्या
ब्रेन डेथका कल कम आएर निसार बनेको समन्वय इकाइको टिमलाई कहिलेकाही फेक कल (झुटो फोन)ले हैरान पारेको छ । डा श्रेष्ठ भन्छन्, ‘केही दिन अघि मात्रै पनि हामीलाई बेलुका एक जोडी डाक्टर दम्पत्तीको दुर्घटनामा परी ब्रेनडेथको अवस्थामा पुगेका छन् । अंग लिन आउनुस भनेर म्यासेज आयो । त्यस दिन हामी रातभरी परिचालित भयौँ तर अन्त्यमा थाह भयो त्यो त फेक कल रहेछ ।’

अंगदान सम्वन्धी महत्व नबुझेका र दुख दिने नियत भएका कतिपयले यसरी झुक्याउने गरेको डा श्रेष्ठको अनुमान छ ।

प्रत्यारोपणको पर्खाईमा मिर्गौला ४७० जना कलेजो २५ जना
ब्रेन डेथ भएकाबाट मिगौला ग्रहण गर्न अहिलेसम्म समन्वय इकाइमा ४७० जनाले नाम दर्ता गराईसकेका छन् । यस्तै कलोजो प्रत्यारोपण गर्न भन्दै २५ जनाले समेत नाम लेखाएका छन् । तर ब्रेन डेथ भएको भन्ने जानकारी नपाउँदा वा पाएको ठाँउमा परिवारले अंग दिन नमान्दा यसको प्रभावकारीता बढ्न सकेको छैन ।

अंग दिने परिवारलाई १ लाख रुपैयाँ र बिरामी रहेको अस्पताललाई ५० हजार रुपैयाँ
समन्वय इकाईले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न चाहने परिवारका लागि १ लाख रुपैयाँ क्रिया खर्च उपलव्ध गराउने निर्णय गरेको छ । त्यस्तै मस्तिष्क मृत्यु सम्वन्धी जानकारी दिने अस्पताललाई ५० हजार नगद उपलव्ध गराउने निर्णय गरेको छ ।

‘खासमा यो पैसा मस्तिस्क मृत्युमा पुग्ने व्यक्तिको उपचार र त्यसपछि गरिने क्रियाकर्मका लागि सहयोग होस भन्ने गरेर दिने निर्णय गरेको हौँ । अस्पताललाई दिने भनेको उसले जानकारी गरायो , त्यसपछि अंग झिक्नका लागि उसको अप्रेसन थिएटर देखि विभिन्न जनशक्ति प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा सहयोग पुर्याउने ध्यय हाम्रो हो,’ डा श्रेष्ठले भने ।

समन्वय इकाईमा कसरी जानकारी दिने ?
समन्वय इकाईमा रहेकी ट्रान्सप्लान्ट कोअर्डिनेटर सनिसा कार्की भन्छिन्, मस्तिष्क मृत्यु भएको परिवारले अंगदान गर्न चाहेमा मोवाइल नं ९८२३५८१७१४ मा चौविसै घण्टा र विहान ९ देखि ५ बजेसम्म ०१६६१४०४७ मा फोन गरेर जानकारी दिन सकिन्छ ।

सो जानकारी गराएपछि समन्वय इकाइमा कर्मचारीले सम्वन्धीत अस्पतालमा ब्रेन डेथ भएको नभएको बारेमा जानकारी लिन्छ । सोही टोलीले अंग लिन मिल्ने नमिल्ने बारे परीक्षण गर्नेछन् । र यदि लिने मिल्ने भए र परिवारले समेत सहमति जनाए तत्काल दक्ष चिकित्सक सहितको टिमले अंग झिक्ने प्रक्रिया थाल्नेछ ।

तर झिकेको अंग कसलाई दिने भन्ने बारेमा सरकारले तयार गरेको स्कोरको आधारमा विरामी छनौट गरिन्छ । त्यसमा बीर अस्पतालमा उपचाररत विरामीले पनि पाउन सक्छ । केन्द्रमा उपचाररत विरामीले पनि पाउन सक्छ वा टिचिङमा उपचाररत विरामीले पनि पाउनसक्छ । कार्कीले भनिन् ।

कोअर्डिनेटर कार्कीले स्वस्थ व्यक्तिले पनि मृत्युपश्चात अंगदान गर्न चाहेमा फारम भर्न सक्ने बताइन । त्यसका लागि केन्द्रमा गएर समेत थप जानकारी लिन सकिन्छ ।

यो पनि पढ्नुहोस……….

‘ब्रेनडेथ’ भएका व्यक्तिबाट झिकेको मिर्गौलाले यी दुईलाई दियो नयाँ जीवन

मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाको मिर्गौला झिक्ने तयारी

‘ब्रेनडेथ’ भएको व्यक्तिको अङ्गदान गर्न चाहे परिवारले एक लाख रुपैयाँ पाउने

नेपालमै पहिलोपटक दुई परिवारबीच मिर्गौला साटासाट गरि प्रत्यारोपण

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *