‘ब्रेनडेथ’ भएको व्यक्तिको अङ्गदान गर्न चाहे परिवारले एक लाख रुपैयाँ पाउने


रामप्रसाद न्यौपाने – काठमाडौँ, २५ भदौ । अब ब्रेन डेथ (मस्तिस्क मृत्यु )भएको व्यक्तिको अङ्गदान गर्न चाहेमा परिवारले एक लाख रुपैयाँ पाउने भएको छ । ब्रेन डेथ भएका व्यक्तिको परिवारले अङ्गदान गर्न सहयोग गरुन भन्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

भक्तपुरस्थित मानवअङ्ग  प्रत्यारोपण केन्द्रमा रहेको अंगदान समन्वय इकाईको गत साता बसेको बैठकले ब्रेन डेथ भएका परिबारलाई मात्रै होइन आफूकहाँ उपचाररत विरामीको ‘ब्रेन डेथ’ भयो भनेर खबर गर्ने अस्पताललाई समेत ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै बैठकले ब्रेन डेथ भएका व्यक्तिबाट झिकेको मिर्गौला प्रत्यारोपण गर्ने अस्पताललाई ५० हजार र कलेजो प्रत्यारोपण गर्ने अस्पताललाई २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

समन्वय इकाई रहेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्याकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ मस्तिस्क मृत्यु भएका परिबारलाई राहत तथा खबर गर्ने अस्पताल र चिकित्सकलाई प्रोत्साहन स्वरुप आर्थिक राहत दिने निर्णय भएको बताए । उनले आर्थिक कुरा भएकोले सो  निर्णय सहमतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको जानकारी दिए ।

गत मंसिरको तेस्रो साता सरकारले अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ पास भएपछि ब्रेन डेथ भएका व्यक्तिबाट अङ्ग झिकेर प्रत्यारोपण गर्ने बाटो खुलेको थियो । अंक कसले पाउने कसरी पाउने भन्ने बारेमा समन्वय गर्न मानवअंग प्रत्यारोपण केन्द्रमा समन्वय इकाई स्थापना गरिएको थियो ।

सो इकाईले अस्पताल तथा विरामीहरुसंग समन्वय गरी ब्रेन डेथ भएका व्यक्तिबाट अङ्ग झिकेर कसलाई प्रत्यारोपण गर्ने भन्ने निर्णय गर्छ ।मानवअंग प्रत्यारोपण सम्वन्धी नियमावली पास भएको ९  महिना पुगिसक्दा समेत ब्रेन डेथ भएका व्यक्तिको परिवारले अङ्गदान गर्ने इच्छा नगरेपछि समन्वय इकाईले यस्तो निर्णय गरेको हो ।

‘खासमा ब्रेनडेथ  के हो र यसको अङ्ग कसरी झिक्ने ? प्रत्यारोपण पछि अरु मानिसमा कसरी काम गर्छ ? भन्ने बारेमा जनचेतना पनि भएको छैन । अर्को अंग झिक्न हुन्न भने सामाजिक परम्परा पनि छ । यसले पनि काम गरेको हुनसक्छ । त्यसले हामी परिबारलाई कन्भिन्स गर्न तथा दुखका बेला किरिया खर्च पुगोस भन्नका लागि एक लाख रुपैयाँ दिने निर्णय गरेका हौँ,’ डा. श्रेष्ठले भने ।

उनले अगाडी थपे, ‘उपत्यकाका अस्पतालमा मात्रै बार्षिक १ हजार बढीको ब्रेन डेथ हुने गरेको तथ्यांकले देखाएको छ ।   त्यस हिसावले पनि दैनिक तीन चार जना र महिनामा ९०/ ९५ जनाको मृत्यु ब्रेन डेथ कै कारण हुने गरेको देखिन्छ । तर अहिलेसम्म ती परिवार र अस्पतालले हामीलाई खबर गरेनन् ।’  त्यसैले खबर गर्ने अस्पताललाई आफन्तलाई कन्भिन्स गर्ने तथा अंग झिक्न अप्रेशन थिएटर समेत प्रयोग हुने भएकोले राहत दिने योजना अघि सारेको डा श्रेष्ठले बताए ।

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्यांक्रियाज, एक सानो आन्द्रा, दुई आँखा नानी तथा छाला लगायतका अंगहरु दान हुनसक्छ ।

१२ जना सम्पर्कका आए १ जनाको झिकियो

 नियमावली आए पछिको नौ महिना यता समन्वय इकाईमा विभिन्न अस्पतालले १२ पटक खबर गरेका थिए । त्यसमध्ये एक जनाको मात्रै अंग निकाल्न सकियो र प्रत्यारोपण समेत भयो । गत बैशाखमा सडक दुर्घटनामा परि ब्रेनडेथ भएका  सिन्धुलीका ३० बर्षीय गोविन्द भुजेलको मिर्गौला झिकेर दुई व्यक्तिमा सफल प्रत्यारोपण भएको छ ।

तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार गर्दा गर्दै ब्रेन डेथ भएपछि परिवार तथा चिकित्सकले खबर गरेपछि इकाईबाट खटिएका प्राविधिक टोलीले अंग निकालि मिर्गौला फेल भएका दुई जना व्यक्तिमा प्रत्यारोपण गरेका थिए ।

ब्रेन डेथ भएको खबर गर्ने अस्पतालहरु

नेपाल मेडिकल कलेज – ३ पटक

काठमाडौँ मेडिकल कलेज – ३ पटक

निदान अस्पताल – २ पटक

कान्तिपुर अस्पताल तिनकुने – १ पटक

मध्यपुर अस्पताल ठिमी – १ पटक

न्युरो अस्पताल बासबारी – १ पटक

अन्नपूर्ण न्युरो अस्पताल माइतीघर – १ पटक

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘ब्रेनडेथ’ भएको व्यक्तिको अङ्गदान गर्न चाहे परिवारले एक लाख रुपैयाँ पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *