छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

बुटवल, २० फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।

छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता
गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ । सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ ।

मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।

बैँकहरूसँग प्रस्ताव माग
गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ ।

गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए ।

लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध
नेपालको कानुनले लिंग पहिचान गरी गर्भपतन गर्नुलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् ।

हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए । भारतसँग सीमा जोडिएका बासिन्दाहरू लिंग पहिचानका लागि भिडियो एक्सरे गर्न भारतीय सहरहरूमा समेत जाने गरेका छन् ।

छोरी जन्मिँदा खुसी बढाउने चाहना छ : हिरा केवट राहुल, अध्यक्ष
हाम्रो समाजमा छोरी जन्मेपछि संरक्षण गर्न, हुर्काउन र विवाह गर्न गाह्रो हुन्छ भन्ने मानसिकता छ । त्यसैले, पनि छोरीभन्दा छोरा जन्माउने चाहना बढी पाइन्छ । यही कारणले गर्भ जाँच गर्ने र लिंग पहिचान गरी छोरी भए तत्काल गर्भपतन गर्ने क्रम बढ्दो छ ।

अहिले समाजमा छोराको संख्या बढ्दो छ, यसको असर पछि देखिन्छ । छोरा–छोरीको सन्तुलन मिलाउन नसके समाजमा द्वन्द्व बढ्न सक्छ । छोरीप्रति राम्रो धारणा बनोस्, छोरी हुर्काउन अभिभावक खुसी बनून तथा पहिचानका आधारमा गर्भपतन नहोस् भनेर नै यस्तो निर्णय भएको हो । बालिका संरक्षण विमा कार्यक्रमका लागि यस वर्ष १ करोड २१ लाख बजेट छुट्याइएको छ ।

यस गाउँपालिकामा करिब ६ सय बालिका प्रत्येक वर्ष जन्मिने अनुमान गरेका छौँ । तर, ६ सय पुग्ने देखिएको छैन । अब बैंक छनौट भएपछि कार्यक्रम कार्यान्वयनमा जान्छ ।

२० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने

बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा विष्णु घिमिरेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *