गङ्गासागर मेलामा नेपाली स्वास्थ्य शिविर

काठमाडौँ, २८ पुस । संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताको आयोजनामा आउट्रामघाट(बाबुघाट)मा गङ्गासागर मेला तीर्थयात्री निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना गरिएको छ ।

शिविरको उद्घाटनका क्रममा कोलकाताका नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले शिविर सञ्चालन गरेर कोलकाताका नेपालीहरुले भारत तथा नेपालबाट तीर्थयात्रा गर्न गएका दाजुभाइ दिदीबहिनीको सेवा गरेकामा खुशी व्यक्त गर्दै महावाणिज्यदूतावासले शिविरलाई आर्थिक सहयोग गरिने घोषणा गरे ।

सङ्घका सभापति नरविक्रम थापाले माघेसङ्क्रान्तिका अवसरमा लाग्ने मेलालाई लक्ष्य गरी २९ वर्षदेखि सो शिविर सञ्चालन गरेर आफूहरुले नेपाली तथा भारतीयहरुलाई सेवा दिइरहेको जानकारी दिए ।

भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका उपसभापति बद्रीविक्रम थापाले नेपाल र भारतबीच सामाजिक तथा सास्कृतिक सहयोग विकासमा मञ्चले भूमिका खेल्ने बताए ।

शिविरमा भारतीय चिकित्सक र नर्स तथा नेपाली स्वयंसेवकले बिरामीलाई स्वास्थ्योपचार र औषधि उपलब्ध गराएको दिलीप थापा डान्स स्कुल, हाउडाका प्रमुख दिलीप थापाले जानकारी दिए । शिविरमा नेपाली जनकल्याण समिति, गोरखनाथ सेवा समिति, श्रीश्रीजानकीमाता नेपाली धार्मिक सङ्घ, प्रवासी नेपाली समाज सेवा सङ्घ, जगतसुधार बौद्ध समिति, श्रीसत्यवती धार्मिक नेपाली समिति, कोलकातालगायतका प्रतिनिधि स्वयंसेवक बनेका छन् ।

बाबुघाटबाट नेपालका कपिलमुनि आश्रम, गङ्गासागर स्नानस्थल पुग्न बस र डुङ्गा९लञ्च०बाट करिब चार घण्टा लाग्छ । मेला आइतबारसम्म चल्नेछ । रासस


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर